महासंघको ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल : अध्यक्ष ढकाल

आर्थिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आसन्न ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि महासंघले पहल गर्ने बताएका छन्।

भक्तपुर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले महासंघको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकता सुदृढ गर्न सर्वसम्मत नेतृत्व अपरिहार्य रहेको उल्लेख गरे। सो उद्देश्यका लागि आफूले सक्रिय पहल गर्ने स्पष्ट पारे।

अध्यक्ष ढकालले महासंघ निजी क्षेत्रको साझा छाता संगठनका रूपमा नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रको हक–हित संरक्षणका लागि सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको बताए। निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन नहुने विषयमा पैरवीदेखि अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन र लगानीमैत्री वातावरण निर्माणका लागि दर्जनौँ कानून संशोधनमा महासंघको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।

“उत्पादन, रोजगारी र लगानी प्रवद्र्धनका लागि नीतिगत स्थायित्व र सरकार–निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ,” उनले भने, “महासंघको निरन्तर प्रयासका कारण धेरै नीतिगत सुधार सम्भव भएका छन् र मुलुकभित्र लगानी प्रवद्र्धनमा महासंघको बलियो उपस्थिति देखिएको छ।”

यद्यपि, पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्किएको चर्चा गर्दै अध्यक्ष ढकालले शान्ति–सुरक्षा तथा लगानीको वातावरण सुनिश्चित गर्न निजी क्षेत्रको अपेक्षा रहेको बताए। मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल उकास्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै उनले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको गलत घुसपैठमार्फत उद्योग–व्यवसाय तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

महासंघले निजी क्षेत्रको नेतृत्वमा लगानी प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै अध्यक्ष ढकालले सोही उद्देश्यका साथ महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको ‘नेपाल डेभलपमेन्ट कम्पनी’ स्थापना गरी काम अघि बढाइएको जानकारी दिए। उक्त कम्पनीमार्फत ठूला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता, उत्पादनमूलक क्षेत्रमा लगानी र रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए। साथै, स्थानीय उद्यमीहरूलाई यस अवसरको सदुपयोग गर्न आग्रह गरे।

भक्तपुरलाई ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले मात्र नभई परम्परागत हस्तकला, घरेलु उद्योग तथा साना तथा मझौला व्यवसायको केन्द्रका रूपमा उल्लेख गर्दै अध्यक्ष ढकालले स्थानीय उद्योग, व्यवसाय र पर्यटन प्रवद्र्धनमा स्थानीय वाणिज्य संघहरूको भूमिका महत्वपूर्ण हुने धारणा राखे।