कोरिया रोजगारी ईपीएस: रोस्टरमा रहेका श्रमिकका पक्षमा सरकारका तीन महत्वपूर्ण निर्णय

आर्थिक

काठमाडौं। सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका तर विभिन्न कारणले हालसम्म अवसर नपाएका व्यक्तिको पक्षमा तीन महत्वपूर्ण निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस प्रणालीअन्तर्गत कोरिया जान तयार पारिएको हालको रोस्टरको समयसीमाका कारण परीक्षा उत्तीर्ण गरे पनि रोजगारी प्राप्त गर्न नसकेका उम्मेदवार अवसरबाट वञ्चित भएको निष्कर्ष निकालेको छ। यस अवस्थालाई सम्बोधन गर्न रोस्टरको मान्य अवधि थप गर्ने विषयमा कोरिया सरकारसमक्ष कूटनीतिक पहलमार्फत अनुरोध गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, ईपीएस प्रणालीअन्तर्गत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिका माग तथा नेपाली कामदारका लागि कोरियाले निर्धारण गर्ने कोटा वृद्धि गर्ने विषयमा समेत आवश्यक कूटनीतिक पहल गर्ने निर्णय गरिएको छ।

साथै, ईपीएस प्रणालीमार्फत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिको व्यक्तिगत विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रिया लगायत समग्र प्रणालीमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न आवश्यक सुझावसहित सिफारिस गर्ने उद्देश्यले एक कार्यदल गठन गर्ने निर्णय पनि सरकारले गरेको छ।