एजेन्सी, १७ वैशाख । कोरोना भाईरसको कारण एक वर्ष स्थगित भएको टोकियो ओलम्पिक तोकिएको नयाँ मितिमा नभए रद्द गरिने भएको छ ।
टोकियो ओलम्पिक आयोजक कमिटिका अध्यक्ष योशिरो मोरीले सन् २०२१ मा समेत आयोजना गर्न नसकिए प्रतियोगिता रद्द हुने बताउनु भएको हो । अध्यक्ष मोरीले कोरोनालाई जितेर ओलम्पिकको आयोजना गर्न सफल हुनेमा विश्वस्त रहेको समेत बताउनुभयो ।
विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुने बताइएको छ । यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको थियो । यस्तै आगामी वर्ष आयोजना हुने भएपनि प्रतियोगिताको नाम ‘टोकियो ओलम्पिक गेम्स २०२०’ नै रहने भएको छ ।

