काठमाडौं, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले बयान लिएको छ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ओलीसँग आयोगले आज औपचारिक बयान लिएको हो । यसअघि आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि बयान लिइसकेको छ ।
यता, पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगसमक्ष पनि ओलीले आफ्नो भनाइ राखेका छन् । आयोग स्रोतका अनुसार ओलीले आयोगलाई लिखित स्टेटमेन्ट उपलब्ध गराएका हुन् ।
यसअघि सिंहदरबारमा पुगेर बयान दिन अस्वीकार गर्दै जाँचबुझ आयोगमाथि प्रश्न उठाएका ओलीले पछिल्लो समय आफ्नो धारणा परिवर्तन गरेका थिए । आयोगको टोली गुण्डुस्थित निवासमै आएमा सहयोग गर्ने बताएका ओलीले अन्ततः सोही स्थानमै आयोगका प्रतिनिधिसँग भेट गरी आफ्नो लिखित भनाइ दिएका हुन् ।

यसरी जेन–जी आन्दोलनसम्बन्धी घटनालाई लिएर ओलीसँग मानवअधिकार आयोग र जाँचबुझ आयोग दुवैले आ–आफ्नो प्रक्रियाअनुसार बयान लिएका छन् ।
