सरकारी वकिल कार्यालयअघि बाबुराम पक्षीय र बाबुराम विरोधी पक्षकै नाराबाजी

विविध

काठमाडौँ- जिल्ला सरकारी वकिल कार्यालयले समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जाहेरी लिन अस्वीकार गरेपछि समाजवादीका नेता-कार्यकर्ताले कार्यालयअघि नै नाराबाजी सुरु गरेका छन्। त्यस्तै, डा. बाबुराम भट्टराई बिरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालयअघि पुगेका विद्यार्थीहरुले पनि नाराबाजी सुरु गरेको छ।

आइतबार महानगरीय प्रहरी परिसर टेकुले उजुरी लिन इन्कार गरेपछि समाजवादीका नेताहरु मंगलबार किटानी जाहेरी दिन सरकारी वकिल कार्यालय पुगे पनि दर्ता गर्न आनाकानी गरेपछि उनीहरुले नाराबाजी सुरु गरेका हुन्।

त्यस्तै भट्टराईबिरुद्ध उजुरी दिन पुगेका विद्यार्थी नेताहरु पनि आफ्नो उजुरी सरकारी वकिल कार्यालयले लिन नमानेपछि नाराबाजीमा उत्रिएका छन्।

अहिले सरकारी वकिल कार्यालयअघि तनावको स्थिति छ।

कार्यालयबाट बाहिर निस्केपछि राजेन्द्र महतोले सरकारी वकिल कार्यालयले महेश बस्नेत, सर्वेन्द्र खनाल र किसान श्रेष्ठबिरुद्ध अपहरणको उजुरी लिन नमानेको र सरकारको निर्देशनबमोजिम नै यस्तो भएको दाबी गरे।

प्रहरी कार्यालयले जाहेरी लिन नमानेको खण्डमा उक्त बेहोरासहित जिल्ला सरकारी वकिलको कार्यालयमा जोहरी दर्ता गर्न सकिने मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ अनुसार समाजवादीका नेताहरु पुगे पनि राजनीतिक विषय भएकाले दर्ता गर्न अस्वीकार गरेको हो।

सरकारी वकिल कार्यालयले सात दिनको समय दिन आग्रह गरे पनि समाजवादीका नेताहरु तुरुन्तै दर्ता हुनुपर्ने अडान राखेका छन्।