काठमाडौं । अहिले नेपालमा कोरोना संक्रमणको केन्द्र बनेको उदयपुरमा कोरोना कसरी पुग्यो भन्ने कुरा खुलेको छ । कोरोना भाइरस संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलोपटक प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपस्थिति भएर जानकारी दिनु भएको छ । उहाँले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयासलगायत स्थानीयका समस्याबारे सरोकारवालासँग छलफल गर्नुभएको हो ।
सेनाका पूर्वी पृतनापतिसहित आउँनु भएका मन्त्री घिमिरेलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसहित ११ जनाले पछिल्लो घटनाक्रमबारे जानकारी गराउनुभयो । करिब अढाई घण्टाको छलफलमा उठेका विषयको जवाफ दिँदै उहाँले संक्रमण कहाँबाट फैलियो भन्ने अन्तिम टुंगोमा प्रदेश सरकार पुग्न लागेको जानकारी दिनुभयो । उहाँले भारतको युपीमा उर्दु भाषा अध्ययन गरेर फर्किएका र दुबईबाट आएकामध्ये एक जनाबाट संक्रमण फैलिएको निष्कर्षमा सरकार पुगेको जानकारी दिनुभयो ।
भारतबाट आएका १२ जमातीले संक्रमण ल्याएको भन्ने भ्रम फैलिएको बेला सरकारले यस्तो दावा गरेको हो । प्रदेश सरकारको सूक्ष्म अध्ययनले भारतबाट आएका युवाकै घरका पाँच सदस्यमा संक्रमण फैलिएको देखिएको बताएको छ । मन्त्री घिमिरेका अनुसार अरू भन्दा पनि ती युवाबाटै संक्रमण फैलिएको भन्नेमा आफुहरु पुगिसकेको बताउनुभयो । यद्यपि दुबईबाट आएकाको बारेमा पनि सरकार बुझ्दैछ । संक्रमण पुष्टि भएकाहरूले यस बीचमा संगत गरेका र उनीहरू कहाँ–कहाँ पुगे भन्ने विवरण खोजी गरी उपचार विधिलाई फराकिलो बनाउँदै गएको छ ।

