काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि स्वास्थ्य क्षेत्र र सामाजिक अभियानमा सक्रिय डा. रुपक घिमिरेलाई समानुपातिक बन्द सूचीअन्तर्गत दलित कोटाबाट उम्मेदवार चयन गरेको छ। हाल रास्वपाको केन्द्रीय अभियान विभाग सदस्य तथा तनहुँ–काठमाडौँ सम्पर्क समितिको संयोजकको जिम्मेवारीमा रहेका घिमिरेलाई युवा नेतृत्व र ‘जेन्-जी’ (Gen-Z) अभियन्ताहरूले बलियो समर्थन जनाएका छन्।
चिकित्सादेखि राजनीतिसम्मको यात्रा
काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस (MBBS) र छालारोग विशेषज्ञता (MD Dermatology) हासिल गर्नुभएका डा. घिमिरे एक सफल चिकित्सक र स्वास्थ्य नीति सुधारकका रूपमा परिचित हुनुहुन्छ। उहाँले भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपण सम्बन्धी विशेष तालिम समेत प्राप्त गर्नुभएको छ।
काठमाडौँ मेडिकल कलेजमा सहायक प्राध्यापकका रूपमा प्राध्यापन गरिसक्नुभएका घिमिरे हाल दरबारमार्गस्थित ‘आवरण स्किन क्लिनिक’ मार्फत स्वदेशी तथा ३० भन्दा बढी देशका नेपाली र विदेशी नागरिकलाई सेवा प्रदान गर्दै आउनुभएको छ।

सुधारका कार्यसूची र सार्वजनिक अनुभव
नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा रहँदा उहाँले मेडिकल मालप्र्याक्टिस (चिकित्सकीय लापरबाही) विरुद्ध कडा कदम चाल्नुका साथै काउन्सिलका सेवाहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न नेतृत्वदायी भूमिका खेल्नुभएको थियो। “स्वास्थ्य सेवा व्यवसाय होइन, नागरिकको मौलिक अधिकार हो” भन्ने मान्यता बोक्नुभएका घिमिरेले राजनीतिलाई सेवाको माध्यम बनाउने अठोट व्यक्त गर्नुभएको छ।
बहुआयामिक व्यक्तित्वका धनी डा. घिमिरे सन् २०११ का ‘मिस्टर नेपाल’ विजेता हुनुहुन्छ भने उहाँले ‘चकलेट’ चलचित्रमा नायकको भूमिका निर्वाह गर्नुका साथै दर्जनौँ विज्ञापनहरूमा अभिनय गर्नुभएको छ। यी अनुभवहरूले जनभावना बुझ्न र सार्वजनिक सञ्चारमा सहजता प्रदान गरेको उहाँको बुझाइ छ।
युवा नेता सुदन गुरुङको समर्थन
‘जेन्-जी’ पुस्ताका प्रभावशाली नेता सुदन गुरुङले डा. घिमिरेको उम्मेदवारीलाई देश परिवर्तनको ठोस कदमका रूपमा व्याख्या गर्नुभएको छ। विगत १५ वर्षदेखिको सहकार्यलाई स्मरण गर्दै गुरुङले भन्नुभयो, “२०७२ को भूकम्प, कोभिड–१९ मा प्लाज्मा बैंक स्थापना र जाजरकोट भूकम्पमा राहत वितरणमा हामीले सँगै काम गर्यौँ। देश बदल्न प्रणालीभित्रै पस्नुपर्छ भन्ने उहाँको सोच आज सार्थक हुँदैछ।”
प्रमुख राजनीतिक एजेन्डा
डा. घिमिरेले आफ्ना मुख्य एजेन्डाहरू यसरी प्रस्तुत गर्नुभएको छ:
दलित समुदायलाई सम्मान र अवसरसहित राज्यको मूल प्रवाहमा ल्याउने।
● युवाहरूलाई स्वदेशमै भविष्य सुनिश्चित हुने वातावरण निर्माण गर्ने।
● नीति, प्रविधि र पारदर्शिताका माध्यमबाट राज्य प्रणालीमा आमूल सुधार ल्याउने।
● स्वास्थ्य नीतिमा सुधार गरी सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने।
“मेरो उम्मेदवारी केवल पहिचानका लागि मात्र होइन, योग्यता र अनुभवलाई राजनीतिमा संस्थागत गर्नका लागि हो,” डा. घिमिरेले भन्नुभयो। आगामी निर्वाचनमा ‘एक भोट जिम्मेवारीको, एक समर्थन परिवर्तनको’ नारासहित उहाँ चुनावी मैदानमा होमिनुभएको छ।
