प्रधानमन्त्रीको आह्वानमा देउवा–ओली–दाहाल बालुवाटारमा

राजनीति

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको भेटवार्ता बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल सहभागी छन्।

सरकारका तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल पनि बैठकमा उपस्थित छन्। जेन–जी आन्दोलनपछि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू पहिलोपटक आज बालुवाटार पुगेका हुन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र दाहालले शीतल निवासमा भेटवार्ता गरेका थिए। तर, प्रधानमन्त्री निवास बालुवाटारमा भने आज पहिलोपटक औपचारिक छलफल भएको हो।

शीतल निवासको अघिल्लो भेटमा देउवा र ओली एउटै रो’मा बसेका थिए भने आज बालुवाटारको भेटवार्तामा देउवा र दाहाल एउटै रो’मा बसेको देखिएको छ।

तस्बिर स्रोत: बालकोट/फेसबुक