रेडियन्ट रिडर्स एकेडेमीको ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित   

स्वास्थ्य-शिक्षा

काठमाडौँ । ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मंसिर १४ गते आइतबार एक विशेष समारोह आयोजना गरी ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ कार्यक्रम सम्पन्न गरेको छ।

करिब साढे तीन घण्टा लामो उक्त समारोहमा कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूले विभिन्न मनमोहक नृत्य, गायन र कविता वाचनका प्रस्तुतिहरू मार्फत आफ्नो उत्कृष्ट कला प्रदर्शन गरे।

चार विधामा २८ स्टार विद्यार्थी सम्मानित

विद्यालयले कार्यक्रमलाई चार मुख्य विधामा विभाजन गरेको थियो, जसले हरेक तहका विद्यार्थीहरूलाई समेटेको थियो:

  • प्रि-स्कुल स्टार क्याटेगरी

  • जुनियर स्कुल स्टार क्याटेगरी

  • सिनियर स्कुल स्टार क्याटेगरी

  • कविता वाचन स्टार क्याटेगरी

यी विधामा उत्कृष्ट प्रदर्शन गर्ने २८ जना विद्यार्थीहरूलाई ‘स्टार विद्यार्थी’ को रूपमा सम्मान गरिएको थियो।

नेपाली सङ्गीत क्षेत्रकी ख्यातिप्राप्त गायिका कुन्ती मोक्तान कार्यक्रमकी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। उनले विद्यार्थीहरूले प्रारम्भिक उमेरदेखि नै आफ्ना प्रतिभाहरू प्रदर्शन गर्ने अवसर पाएकोमा विद्यालय परिवारलाई विशेष धन्यवाद दिइन्।

गायिका मोक्तानले यस्ता मञ्चहरूले विद्यार्थीहरूको भविष्यमा नेपाली सङ्गीत, नृत्य र अन्य सृजनात्मक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन मद्दत गर्नेमा दृढ विश्वास व्यक्त गरिन्। समारोहमा प्रमुख अतिथिलाई नेपाली सङ्गीत क्षेत्रमा लामो समयदेखिको अतुलनीय योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक डीके ढुङ्गानाले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न यस्ता अवसरहरू निरन्तर प्रदान गरिने प्रतिबद्धता जनाए। साथै, उनले विद्यार्थीहरूलाई हौसला दिँदै “विद्यार्थीहरूले जे गर्छन्, त्यसलाई उत्कृष्ट तरिकाले गर्नुपर्छ” भन्ने प्रेरणादायी सन्देश दिए।