लकडाउनमा १० गाडीमा ३ सय मानिस

विविध

काठमाडौँ – एक महिना वित्दा पनि लक डाउन नलुखेपछि काठमाडौँमा डेरा गरी बस्ने सोलुखुम्बुका ३ सय भन्दा बढि मानिस एकैरात गाउँ फर्कीएका छन् । थुलुङ दूधकोशी गाउँपालिकाले नागरिकलाई घर लैजान समन्वय गरे पछि काठमाडौँमा अलपत्र पर्न लागेका नागरिकहरुको उद्धार गरेको हो ।आफ्नो पालिकाभित्रका ३ सय भन्दा बढि मानिसलाई शुक्रबार राती १० वटा मिनिबसमा काठमाडौँबाट गाउँ लगेको थुलुङ दुधकोशी गाउँपालिकाले जानकारी दिएको छ ।  काठमाडौँको चाबहिल र कोटेश्वरबाट नागरिकहरुलाई सम्पर्क गरी गाडीमा सुरक्षित रुपमा सोलुखुम्बुसम्म लैजान लागेको पालिकाले जनाएको छ । यसरी घर जानेमा स–साना बालबालिका देखि महिलाहरु पनि छन् । लकडाउनकै समयमा रातीको समयमा थुप्रै स्थानीय तहले आफ्ना नागरिकको यसरी उद्धार गरिरहेको छ । यसो गरिँदा एकातर्फ नागरिकको उद्धार त भएको देखिन्छ तर कोरोना संक्रमण हुने जोखिम पनि उत्तिकै बढ्दो छ । त्यसका लागि नागरिक देखि सम्बद्ध पक्षले निक्कै ध्यान दिन जरुरी छ । कोरोना संक्रमणका कारण उत्पन्न असहज अवस्थामा गाउँपालिका फर्किएका नागरिकले १४ दिन अनिवार्य एकान्तवास बस्नुपर्ने, गाउँपालिकाले गरेको निर्णयको पूर्ण पालना गर्ने पर्ने जनाइएको छ ।