प्रधानमन्त्री कार्कीविरुद्ध जेन्जी मुभमेन्टको विद्रोह: तत्काल राजीनामाको माग

राजनीति

काठमाडौं, जेन्जी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको तत्काल राजीनामा माग गर्दै सरकारविरुद्ध कडा धारणा सार्वजनिक गरेको छ।

मुभमेन्टका अनुसार प्रधानमन्त्री कार्कीले जेन–जी विद्रोहको भावना र जनआकांक्षामाथि कुठाराघात गरेको आरोप लागेकै कारण उनी पदमा रहन योग्य नरहेको दाबी गरिएको छ।

जेन्जी मुभमेन्टले सार्वजनिक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्लाई ‘सत्ता कु गरेर बनेको सरकार’ उल्लेख गर्दै समग्र नागरिकलाई यसको बहिष्कार र अवज्ञा गर्न आह्वान गरेको छ।

विज्ञप्तिमा भनिएको छ,
“हामी सुशीला कार्कीलाई तत्काल पदबाट हट्न, जेन–जी विद्रोहको भावना र जनआकांक्षामाथि कुठाराघात नगर्न दृढ आह्वान गर्दछौँ। सत्ता ‘कु’ गरेर बनेको सरकार तथा मन्त्रीपरिषद्लाई सार्वजनिक रूपमा बहिष्कार गरी अवज्ञा गर्न देशबासीलाई आग्रह गर्दछौँ।”

यसबाहेक, प्रधानमन्त्री कार्कीका मन्त्रीहरूले सरकार गठनपछिदेखि दुराचार, गैरजिम्मेवार निर्णय र दुरुपयोग बढाएको आरोप पनि मुभमेन्टले लगाएको छ।
मुभमेन्टको ठहरमा, प्रधानमन्त्री कार्की नेतृत्वको सरकार “पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमा गढिएको” छ।