काठमाडौं । लकडाउनका कारण दैनिक श्रम गरेर पेट भर्ने मानिसहरुले राहत पाउन नसकेको गुनासो बढीरहेका बेला काठमाडौं महानगरपालिका वडा नं. १५ ले राहत स्वरुप काठमाडौंको स्वयम्भुमा दैनिक खाना खुवाउने व्यवस्था गरेको छ ।
विभिन्न दाताहरुबाट सहयोग उठाएर दिनको एकपटक खाना खुवाउने व्यवस्था वडा कार्यालयले गरेको हो । स्वयम्भू स्थित भुइखेल टोल सुधार समितिको संयोजनमा वडा कार्यालयले दैनिक ५ सय भन्दा बढी मानिसहरुलाई खाना खुवाइरहेको छ ।
दैनिक बिहान ११ बजेदेखि १ बजेसम्म पेटभरी खाना खुवाउने व्यवस्था गरिएको खाना खानका लागि सबैभन्दा पहिला आफ्नो सरिरलाई डिसइन्फेक्सन गर्नुपर्छ ।

त्यसका लागि खाना खुवाउने स्थलमा डिसइन्फेक्सन गर्ने टनेलको ब्यवस्था गरिएको छ । खाना लिन जानुअघि टनेल भित्र पसेर आफ्नो शरिरलाई निसङ्क्रमित पार्नुपर्छ ।
त्यसपछि खाना खानको लागि आफ्नो विवरण टिपाउनुपर्छ । त्यस्तै खाना लिन जाँदा लाइन बस्ने, र चउरमा छुट्टाछुट्टै बसेर खाना खाने व्यवस्था मिलाइएको छ ।
खानामा दाल, भात, तरकारी खुवाइन्छ । सुरुको दिनमा १ सय ५० जनाले खाना खाएकोमा अहिले दैनिक ५ सय देखि ६ सय जनासम्म खाना खान आउने गरेका छन ।
