अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने जापान छैटौँ स्थानमा झर्ने अपेक्षा छ ।
नाममात्रको जीडीपीका आधारमा जापान यस वर्ष विश्वको चौथो ठूलो अर्थतन्त्र बन्नेछ । तर, सन् २०२७ मा भारत र बेलायतले जापानलाई पछाडि पार्ने आइएमएफको प्रक्षेपण छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका हो भने चीन दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् ।
विश्वव्यापी आर्थिक अवरोधका बीच भारतले पछिल्ला वर्षमा बलियो आर्थिक वृद्धि हासिल गरेको छ । आइएमएफले यसै साता सन् २०२६ का लागि भारतको आर्थिक वृद्धिदरको अनुमान बढाएर सात प्रतिशत पुर्याएको छ । यसको विपरीत, वृद्ध जनसङ्ख्या र संरचनात्मक समस्याका कारण जापानको आर्थिक वृद्धि सुस्त बनेको छ ।
एसिया–प्रशान्त क्षेत्रका लागि आइएमएफको क्षेत्रीय आर्थिक दृष्टिकोण बिहीबार सार्वजनिक गर्दै एसिया निर्देशक कृष्ण श्रीनिवासनले इरानमाथि अमेरिका र इजरायलको युद्धका कारण ऊर्जा मूल्यमा परेको असर सामना गर्न भारत तुलनात्मक रूपमा बलियो अवस्थामा रहेको बताउनुभयो । भारतको आर्थिक वृद्धि बलियो रहेको, वित्तीय अनुशासन कायम भएको र पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेकाले ऊर्जा मूल्यको धक्कालाई सामना गर्न सहज भएको उहाँको भनाइ थियो ।
आइएमएफले जापानको आर्थिक वृद्धिदर सन् २०२६ मा शून्य दशमलव सात प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । ऊर्जा मूल्यवृद्धि र व्यापक मुद्रास्फीतिले जापानको अर्थतन्त्रमा दबाब बढाएको छ । सन् २०२२ को वसन्तयामदेखि निरन्तर बढिरहेको उपभोक्ता मूल्यमा इरान युद्धका कारण ऊर्जा महँगिएपछि थप चाप परेको छ । यसले जापानको केन्द्रीय बैंकलाई तीन दशकयताकै उच्च ब्याजदरमा पुर्याएको छ ।
अमेरिकी डलरको तुलनामा येनको मूल्य गर्मीयाममा ४० वर्षयताकै न्यून स्तरमा झरेपछि आयात लागतसमेत बढेको छ । वृद्ध जनसङ्ख्याले पनि जापानको आर्थिक गतिविधिमा असर पारेको छ ।
श्रीनिवासनले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको लगानीले जापानको अर्थतन्त्रलाई फाइदा पुर्याए पनि यसबाट क्षेत्रका अन्य अर्थतन्त्रको तुलनामा उल्लेखनीय बढी लाभ नपुगेको बताउनुभयो ।
यसैबीच, एआई क्षेत्रका कम्पनीहरूको नाफाबारे शङ्का बढेपछि प्रविधि कम्पनीका सेयरमा गिरावट आएको छ । त्यसको असर जापानको प्रमुख सेयर बजार सूचक निक्केईमा पनि परेको छ । बिहीबार निक्केई सूचक करिब पाँच प्रतिशतले घटेको छ ।

