काठमाडौं । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले आज (शनिबार) दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्। सभामुखका प्रेस सल्लाहकार अवधेश कामतका अनुसार सभामुख स्तरबाट बोलाइएको यो बैठक प्रदेशसभाको समसामयिक राजनीतिक जटिलता समाधान गर्न केन्द्रित रहनेछ।
यसअघि प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पनि आजै ३ बजे सर्वदलीय बैठक आह्वान गरेका थिए। तर सो बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ। वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव नेकपा (एमाले) संसदीय दलका नेताको हैसियतले सहभागी हुने भएकाले अन्य दलहरूले असन्तुष्टि जनाउँदै बैठकमा उपस्थित नभएको बताइएको छ।
यता, सभामुख मण्डलले बैठक आह्वान गरिरहँदा प्रदेशसभा भवन अगाडि सात दलका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन जारी राखेका छन्। परिस्थितिलाई ध्यानमा राख्दै सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

