काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा (एमाले) आज देशभरका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दैछ। प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगामी षड्यन्त्र’ को संज्ञा दिएका एमालेले जनपरिचालन अभियानअन्तर्गत सबै जिल्लामा प्रदर्शन तथा सभा आयोजना गर्न लागेको हो।
एमालेले यसअघि नै वडा, पालिका, जिल्ला हुँदै राष्ट्रिय तहसम्म चरणबद्ध जनपरिचालन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार पार्टीले प्रतिनिधिसभा पुनर्स्थापना, भदौ २३–२४ का आपराधिक घटनाको निष्पक्ष छानबिन, तथा तोडफोड–लुटपाट–आगजनीमा संलग्नलाई कारबाहीको माग राख्दै आन्दोलनका कार्यक्रम अघि बढाइरहेको छ।
यसअघि कार्तिक २५ गते एमालेले देशभरका स्थानीय तहमा प्रदर्शन तथा सभा सम्पन्न गरिसकेको थियो। आगामी मंसिर ६ गते काठमाडौँमा विशाल जनसभा गर्ने पार्टीको तयारी छ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै आएको एमालेले मंसिर २ गते विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाई संसद् पुनःस्थापना लगायत समसामयिक विषयमा रणनीति तय गर्नेछ।

सरकारले आगामी फागुन २१ गतेका लागि चुनाव घोषणा गरिसकेको छ भने एमाले प्रधानमन्त्री नियुक्ति र संसद् विघटन दुवै कदमलाई असंवैधानिक ठहर गर्दै निरन्तर विरोधमा छ।
