“FinPOS Mini Unveiled – सिटीटेकद्वारा नेपालकै सानो र स्मार्ट भुक्तानी उपकरण सार्वजनिक”

बजार

काठमाडौं, कात्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) — नेपालका फिनटेक क्षेत्रमा सक्रिय सिटीटेक ग्रुप प्रा. लि. ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न NAS-IT एक्स्पो २०२५ मा आफ्नो नवीनतम डिजिटल भुक्तानी उपकरण ‘फिनपस मिनी (finPOS Mini)’ सार्वजनिक गरेको छ। कम्पनीले यसलाई “नेपालको सबैभन्दा सानो र बहुआयामी POS समाधान” का रूपमा परिचय गराएको छ।

फिनपस मिनीले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सुविधा प्रदान गर्छ। यसले Visa, Mastercard, UPI, NepalPay लगायतका कार्ड योजनासँगै NepalPay QR, Fonepay र SmartQR जस्ता क्युआर नेटवर्कहरूलाई पनि समर्थन गर्दछ।

सिटीटेकका अनुसार यो उपकरण सानो आकारको भए पनि स्मार्ट प्रोसेसिङ, फास्ट ट्रान्जेक्सन र लचिलो प्रयोग अनुभव प्रदान गर्न सक्षम छ। विशेषगरी डेलिभरी, यातायात, खुद्रा पसल र साना व्यवसायहरूका लागि यो डिजिटल भुक्तानी प्रविधि अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ।

“फिनपस मिनी हाम्रो देशभरका व्यवसायीहरूलाई डिजिटल भुक्तानी प्रविधिमा सहज पहुँच दिलाउने दिशामा अर्को ठोस कदम हो। सस्तो, सुरक्षित र प्रयोगमैत्री प्रविधिबाट हामी नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ अघि बढाउन चाहन्छौं।”

सजन शर्मा: प्रमुख कार्यकारी अधिकृत, सिटीटेक ग्रुप

कार्यक्रममा ग्लोबल आइएमई बैंक, मच्छापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंक ले आफ्ना भुक्तानी प्रणालीमा फिनपस मिनी समावेश गर्ने उद्देश्यसहित Letter of Intent (LOI) मा हस्ताक्षर गरेका छन्।

हाल सिटीटेकको ‘फिनपस’ ब्रान्डले १२ वटा बैंकमार्फत १०,००० भन्दा बढी व्यवसायीहरूलाई POS सेवा प्रदान गर्दै आएको छ। कम्पनीले फिनपस मिनीको शुभारम्भसँगै बैंकहरूका लागि किफायती, सुरक्षित र स्केलेबल अक्वायरिङ समाधानको नयाँ अध्याय सुरु भएको जनाएको छ।