काठमाडौं, वैशाख १० ,भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री श्री भानुभक्त ढकाललाई २३ टन औषधी हस्तान्तरण गरेका छन् । भारतका जनताका तर्फबाट नेपालका जनताका लागि उपहार स्वरुप हस्तान्तरण गरिएको सो औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु छन् । यस पहलले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाउँछ ।

कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनताला�� सुरक्षित राख्न हाम्रा नेताहरुले प्रतिबद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७६ चैत्र २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेका थिए र सार्क कोभिड–१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्दै सबै छिमेकी मित्र राष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । भारतीय तथा नेपाली स्वास्थ्यकर्मीहरु यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि आपसी सहकार्यमा प्रयत्न गरिरहेका छन् । सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्घ रहेको छ ।

