प्रि–मनसुन सक्रिय

विविध

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ ।

 बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको छ ।  प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ ।

हाल देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका धेरै जसो स्थानमा र मध्य र पूर्वी तराईका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातको समयमा देशभर आङ्शिकदेखि सामामन्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा र पूर्वी तराईका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । बिहीबार देशको पहाडी भू–भागका साथै मध्य र पश्चिमी तराईका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

वैशाख १२ गते शुक्रबार देशको मध्य र पूर्वी भू–भागको केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस छ ।