नाम विकास बैंक पारा बदमास बैंक!  लुम्बिनी र सप्तकोशी विकास बैंक माथि राष्ट्र बैंकको एक्सन 

बैंक/वित्त

काठमाडौँ — राष्ट्र बैंकले नियम उल्लङ्घन गरी अनुशासनहीन व्यवहार प्रदर्शन गर्ने दुई विकास बैंकमाथि कडाइका साथ कारबाही गरेको छ। लुम्बिनी र सप्तकोशी विकास बैंकले नियामकका निर्देशन र कानुनी प्रावधान बेवास्ता गरेपछि राष्ट्र बैंकले चेतावनीदेखि शीघ्र सुधारात्मक कारबाहीसम्मको कदम चालेको हो। यी दुई बैंकले “विकास बैंक होइन, बदमाश बैंक” सरहको व्यवहार त गरेको होइन प्रश्न समेत खडा भएको छ|

राष्ट्र बैंकका अनुसार लुम्बिनी विकास बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति गर्दा सेवा सुविधा छोटो अवधिमै वृद्धि गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको व्यवस्था उल्लङ्घन गरेको पाइएको हो। यस कारण राष्ट्र बैंकले तत्कालीन सञ्चालक समितिलाई सचेत गराएको जनाएको छ।

त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकले कर्जा नोक्सानी व्यवस्थासम्बन्धी समायोजन गर्दा पुँजीकोष अनुपातमा गम्भीर अनियमितता देखिएको राष्ट्र बैंकले जनाएको छ। बैंकको २०८१ असार मसान्तमा पुँजीकोष अनुपात तोकिएको न्यूनतम १० प्रतिशतमा ४२.७ प्रतिशतले कम थियो भने २०८२ असार मसान्तमा यो अनुपात घटेर ७.५१ प्रतिशत मात्र रहेको पाइएको हो। यो न्यूनतम मापदण्डभन्दा २४.९ प्रतिशतले कम भएकाले राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ बमोजिम कारबाही गरेको हो।

राष्ट्र बैंकले थप जनाएको छ कि सप्तकोशी बैंकले प्रवाह गरेका चालु पुँजी प्रकृतिका कर्जामा आवश्यक कागजात नलिई समयावधि थप गरेको, कर्जा नोक्सानी व्यवस्थासम्बन्धी विवरण यथार्थपरक नरहेको र रिपोर्टिङ अविश्वसनीय पाइएको छ। यस्ता निर्देश उल्लङ्घनका कारण बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेललाई नसिहत दिइएको बताइएको छ।