कारागार फिर्ता जाने रवि लामिछानेको घोषणा, सरकारसँग पाँच बुँदे माग

राजनीति

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफूलाई जन्मदिनको उपहारका रूपमा पुनः कारागारमा पठाउने घोषणा गरेका छन्। एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै देशको वर्तमान अवस्था र अबको बाटोबारे महत्वपूर्ण धारणा राखेका हुन्।

‘आज मेरो जन्मदिन परेछ, र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरी कारागारमा पठाउँदैछु,’ उनले भनेका छन्। उनले पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साधेको आरोप लगाउँदै अहिलेको सरकारले न्याय गर्ने आशा व्यक्त गरेका छन्। उनले भने, ‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ, अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु।’

कारागारबाट रिहाइको विवादमा स्पष्टीकरण

केही दिनअघि कारागारबाट रिहाइ भएको विषयमा भएको विवादबारे पनि लामिछानेले स्पष्टीकरण दिएका छन्। उनले भिडबाट जेललाई जोगाउनका लागि चिठी दिएर निकालिएको बताए। उनले भने, ‘जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनले मलाई जोगाएको होइन, जेल जोगाएको हो।’ उनले त्यसको वैधानिकताका नाममा कुनै कर्मचारी वा सचिवलाई अप्ठ्यारोमा पार्न नचाहेको पनि बताए। उनले भने, ‘मेरा कारण कुनै एउटा जेलर एउटा गृह सचिवलाई अप्ठ्यारोमा पार्नु पर्दैन, मै जिम्मा लिन्छु।’

पुराना दलमाथि प्रहार र आफ्नै पार्टीलाई सुझाव

लामिछानेले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध दुष्प्रचार गर्ने पुराना दलका केही व्यक्तिहरूको आलोचना गरेका छन्। उनले भने, ‘पुराना दलका सेनामेना साथी हो, तिमीहरू आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टी गर्दै नाचिरहेका छौं?’

आफ्नै पार्टीका साथीहरूप्रति भने उनको कुनै गुनासो नभएको उनले बताएका छन्। ‘म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईँलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन,’ उनले भने, ‘पार्टी त बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले, र दाजुभाइहरूको सक्रियता र सद्भावले बन्छ।’

अन्तरिम सरकारलाई सुझाव र पाँच बुँदे माग

लामिछानेले वर्तमान अन्तरिम सरकारले संविधानको पूर्ण पालनाबाट बनेको नभए पनि यसलाई परिणामबाट सार्थक बनाउनुपर्नेमा जोड दिएका छन्। उनले देशमा भएका पछिल्लो दमन र हिंसाको छानबिन गर्नुपर्ने माग राखेका छन्। उनले भने, ‘बच्चाका टाउकोमा ताकी ताकी गोली हान्ने गृहमन्त्री प्रधानमन्त्रीहरू कारबाहीको दायरामा तत्काल आउनुपर्छ।’

सरकारलाई सफल बनाउन सहयोग गर्ने वचनका साथ उनले पाँच बुँदे माग राखेका छन्, जुन यस प्रकार छन्:

  • २०४६ सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ।
  • देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द गरिनुपर्छ।
  • कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नुपर्छ।
  • सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्छ।
  • सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागु हुनुपर्छ।

पुराना दलहरूसँग प्रतिशोध नराख्ने

लामिछानेले पुराना राजनीतिक दलहरूप्रति कुनै प्रतिशोधको भावना नरहेको स्पष्ट पारेका छन्। उनले भने, ‘उनीहरूले जति जाने त्यति गरे। इतिहासका विभिन्न कालखण्डमा देशमा परिवर्तन ल्याउन उनीहरूले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोधको भावना त्याग्नुपर्छ।’ उनले स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत राख्नुपर्नेमा जोड दिएका छन्।

पार्टीका सम्पूर्ण पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा श्रमदान गर्न उनले हार्दिक अपिल पनि गरेका छन्।