काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै उड्ने कार उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
मंगलबारदेखि राजधानीमा सुरु भएको नाडा अटो शो २०२५ को १७औं संस्करणको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रदर्शनीमा राखिएको उड्ने कार अनावरण गर्दै यस्तो धारणा राखेका हुन्।
प्रधानमन्त्री ओलीले विकसित मुलुकहरूमा उड्ने कारलाई प्रायः संग्रहालयमा राख्ने गरिएको उल्लेख गर्दै भने, “अब नेपालीहरूले आफ्नै उड्ने कार बनाएर विदेश निर्यात गर्नुपर्छ।”

यस वर्षको अटो शोका लागि एमए डब्लु ग्रुपले दिपाल इभीटीओएल उड्ने कार नेपाल भित्राएको हो। तर, यो केवल प्रदर्शनी प्रयोजनका लागि ल्याइएको हो र नेपालमा उड्ने कारसम्बन्धी कानुनी प्रावधान अझै बनेको छैन।
समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल विकासको दौडमा पछि परेको भन्दै अब अरूभन्दा छिटो अघि बढ्नुपर्ने बेला आएको बताए। उनले देशको समग्र विकासका लागि सबै क्षेत्रले तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिए।
सोही अवसरमा, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रले अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान दिएको बताए। उनका अनुसार यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने ३ हजारभन्दा बढी व्यवसायी यससँग संगठित छन्।
