एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : पिपल्स च्वाइस विधाका पाँच खेलाडीको मनोनयन सार्वजनिक

खेलकुद

नेपाल खेलकुद पत्रकार मञ्चले आगामी भदौ २९ गते पोखरामा आयोजना हुने एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ को पिपल्स च्वाइस अवार्ड विधाका लागि मनोनीत पाँच खेलाडीको नाम सार्वजनिक गरेको छ ।

अवार्डको २२ औं संस्करण पहिलोपल्ट राजधानी बाहिर हुँदैछ, जसका लागि मुख्य प्रायोजक गोल्छा ग्रुप तथा प्रवद्र्धक पोखरा महानगरपालिका रहेका छन् । प्रेस विज्ञप्तिमार्फत मञ्चले दुबै संस्थाप्रति आभार व्यक्त गरेको छ ।

पिपल्स च्वाइस अवार्डका लागि क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसुका विजय सिन्जाली र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् ।

मनोनयन सार्वजनिक गर्दै मञ्चले वर्षभर उत्कृष्ट प्रदर्शन गरेका साथै केही ओझेलमा परेका खेलाडीलाई जनसमक्ष थप चर्चित बनाउने उद्देश्यले यो विधा सार्वजनिक गरिएको जनाएको छ ।

पिपल्स च्वाइस विजेता आईएमई खल्ती, सामाजिक सञ्जाल, प्रशिक्षक र खेल पत्रकारहरूको संयुक्त मतका आधारमा चयन गरिनेछ ।

यस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । भोटिङको लागि आईएमई खल्ती डिजिटल पार्टनरका रूपमा आबद्ध भएको छ ।

यस संस्करणमा १० विधामा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी (पुरुष, महिला, युवा) र प्रशिक्षकलाई समेत पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विजेतालाई जनही १ लाख रुपैयाँ पुरस्कार दिइनेछ । गत वर्ष कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी थिइन् । मुख्य आयोजक समितिको अध्यक्षतामा निरञ्जन अधिकारी रहेका छन्, र उनले अवार्डको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मिडिया र समर्थकको निरन्तर सहयोगमा पूर्ण विश्वास व्यक्त गर्दै, आगामी कार्यक्रमलाई थप भव्य बनाउने प्रतिबद्धता जनाएको छ ।