“Agricultural Development Bank Hits 42% Net Gain: इतिहासकै उच्च नाफा”

बैंक/वित्त

काठमाडौं -कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो इतिहासकै सबैभन्दा उच्च नाफा आर्जन गरेको छ। बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा कुल नाफा करिब ५० प्रतिशतले बढेको छ भने खुद नाफा ४२ प्रतिशतले वृद्धि भई ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसै अवधिमा खुद नाफा २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा अघिल्लो वर्षको ९ अर्ब ७६ करोडबाट बढेर ११ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। प्रमुख आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड रुपैयाँमा पुगेको छ। जोखिम न्यूनिकरण रणनीतिअन्तर्गत प्राथमिकताका कर्जामा लगानी विस्तार गर्दै लगानी पोर्टफोलियो सन्तुलनमा राखेपछि गैर–सञ्चल कर्जा अनुपात ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा झरेको बैंकले जनाएको छ।

प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा रहेको विवरणमा उल्लेख छ। यस अवधिमा बैंकको ब्याजदर स्प्रेड ३.९६ प्रतिशत कायम छ।

वित्तीय विवरणअनुसार चौथो त्रैमाससम्म बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा परिचालन २ खर्ब १६ अर्ब २ करोड रुपैयाँमा पुगेको छ। कुल सम्पत्ति ३ खर्ब ६२ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ।

बैंकले स्टान्डर्ड चार्टर्ड बैंकलाई बिक्री गरेको ८ अर्ब रुपैयाँ बराबरको कृषि कर्जा घटाएपछि पनि लाभांश क्षमता उच्च देखिएको छ। समीक्षा अवधिमा लाभांश क्षमता १८.५३ प्रतिशत र वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड रुपैयाँ रहेको विवरणमा जनाइएको छ।