सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग सम्झौता

बैंक/वित्त

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारमा आर्थिक सहयोग प्रदान गर्ने उद्देश्यले एक वर्षे सहकार्य सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौताअनुसार सानिमा बैंकले आगामी एक वर्षसम्म न्यून आर्थिक हैसियत भएका महिलाहरूको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग प्रदान गर्नेछ। बैंकले यसअघि २०७४ सालदेखि नै पाटन अस्पतालमार्फत यस्ता महिलाहरूलाई आर्थिक सहयोग गर्दै आइरहेको छ।

सानिमा बैंकले “नारी बचत खाता” खोल्ने प्रत्येक खाताका लागि मासिक रु. १ को दरले “नारी राहत कोष”मा रकम जम्मा गर्दै आएको छ। सो कोषमा संकलित रकम देशभरका विभिन्न अस्पतालहरूमार्फत विपन्न महिलाहरूको उपचारमा खर्च गरिँदै आएको छ।

सम्झौता पत्रमा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले हस्ताक्षर गर्नुभएको हो। यो सम्झौता कार्यक्रममा दुबै संस्थाका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

हाल सानिमा बैंक देशका सातै प्रदेशमा फैलिएका १३४ शाखा कार्यालय र १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ।