CIB Surveillance on Regulator: राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ

बैंक/वित्त

काठमाडौं — कर्णाली विकास बैंकमा ४ अर्ब ९० करोड रुपैयाँको अनियमितता प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरी स्थायी ठेगाना भएका ६१ वर्षीय भुवन बस्नेत छन्, जो अनुगमन अधिकृतका रूपमा राष्ट्र बैंकमा कार्यरत थिए। उनलाई काठमाडौंको टोखा क्षेत्रबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।

अनियमितता भएको समयमा गम्भीर आर्थिक संकटमा रहेको कर्णाली विकास बैंकलाई ‘सब ठिक’ भनेर प्रतिवेदन दिएको आरोप बस्नेतमाथि लागेको छ। सीआईबीले यसअघि अनुगमनमा संलग्न व्यक्तिहरूको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। त्यसपछि राष्ट्र बैंकभित्र यो विषयलाई लिएर तनावको अवस्था उत्पन्न भएको थियो।

घटनाप्रति राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले पनि चासो देखाएका थिए। सीआईबी र अन्य सुरक्षा निकायका उच्च अधिकारीहरूसँग उनले यसबारे छलफल गरेका थिए।

यसअघि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। ठगी प्रकरणमा पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, र निरजविक्रम शाहसमेतको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, बैंकको कोर बैंकिङ प्रणालीमा देखिएको मौज्दात र विभिन्न बैंक खाताहरूमा वास्तवमा रहेको रकमबीच ठूलो अन्तर देखिएको थियो। आन्तरिक छानबिन समितिको प्रतिवेदन अनुसार नक्कली ब्यालेन्स सर्टिफिकेटमार्फत केही वर्षदेखि अपचलन लुकाउने काम भएको पुष्टि भएपछि सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको थियो।