काठमाडौं । शिक्षासेवी नर्बदा पोखरेलको ‘मेरो जीवनयात्रा’ नामक पुस्तक सार्वजनिक भएको छ । नेपाल शिक्षक संघकी पूर्वकेन्द्रीय उपाध्यक्ष तथा कांग्रेस महासमिति सदस्य पोखरेलको उक्त पुस्तक एक समारोहबीच लोकार्पण गरिएको हो ।
आफ्नो शिक्षण जीवनको ४० बर्ष र त्यो भन्दा अगाडिको विद्याथीकालिन जीवन, डेराको संघर्षशिल जीवनमार्फत अध्ययन अध्यापन गरेकी उनीपछिल्लो समय राजनीति र समाजसेवामा समेत अग्रसर छिन् ।
आफ्नै जीवन संघर्षका विषयमा पुस्तक केन्द्रित रहेको छ । पुस्तकको लोकार्पण गर्दै कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद गगन कुमार थापाले पोखरेलको जीवन संघर्षको बारेमा सम्मान प्रकट गरे । पोखरेलजस्ता हजारौ मन सफा रहेका, मेहनती कार्यकर्ता नै नेपाली कांग्रेसका बलिया स्तम्भ रहेको जिकिर गर्दै उनले शुभकामना दिएका थिए ।

पोखरेलले श्रीमान्, छोराछोरी र अन्य परिवारको साथले स्नातकोत्तरसम्मको अध्ययन गर्न सफल हुन सकेको र घर, समाज र राजनीतिलाई संगसंगै अगाडि बढाएको विषयमा पुस्तकमा समेटिएको जनाइएको छ ।
प्रकाशक स्वयं पोखरेल रहेकी उक्त पुस्तकको सम्पादन भने नेपाली भाषाबिज्ञ हरि अधिकारीले गरेका छन्। पोखरेलले आफ्नो जीवन कालमा हालसम्म आफुलाई सहयोग र उर्जा प्रदान गर्नुहुने सबैप्रति आभार ब्यक्त गर्दै आफु परिवार, शिक्षण पेशा, समाजसेवा तथा राजनीतिक जीवनमा समेत सन्तुष्ट हुनसकेको बताइन् ।
सम्पादक अधिकारीले पुस्तकको संक्षिप्त परिचय दिएका थिए । समारोहमा उपस्थित वक्ताहरुले पोखरेलको अथक परिश्रम तथा योगदानबारे खुलेर प्रशंसा गरे ।
