“धान रोप्दै संस्कृतिको उत्सव: असार १५ विशेष”

संकृति - सम्पदा समाचार

काठमाडौँ — प्रत्येक वर्ष असार १५ लाई ‘धान दिवस’का रूपमा मनाइन्छ, जसमा किसान खेतमा हिलो छ्यापाछ्याप गर्दै धान रोप्छन् र दही चिउरा खाएर परम्परा पालना गर्छन्। आज पनि देशभर यो दिवस उल्लासपूर्वक मनाइँदैछ।

परिश्रमले थकित किसानलाई ऊर्जा र शीतलता दिन दही चिउरा खाने परम्परा छ। नेपाली समाजमा असार १५ दही चिउरा खाने विशेष दिनका रूपमा स्थापित भइसकेको छ। खेतीपातीसँग सम्बन्ध नभएका नेपालीहरूले समेत आजको दिन दही चिउरा खाएर पर्व मनाउने गर्छन्।

नेपाली संस्कृतिमा दहीको विशेष स्थान छ। शुभकार्य, यात्रारम्भ र बिदाइका बेला दही अक्षता र रातो टीका लगाउने चलन परम्परागत रूपमा रहिआएको छ। जनविश्वास अनुसार, दही खाएर निस्कनुले साइत मिल्छ।

दही स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ। आयुर्वेदका अनुसार भोजनपछिको मथिएको दही—मोही—पाचन सुधारक हुन्छ, जसले चिकित्सकको आवश्यकतालाई समेत घटाउँछ। ‘‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’’ भन्ने उक्तिले यसको पुष्टि गर्छ।

पखालाजस्ता पेटसम्बन्धी समस्यामा पनि दही चिउरा औषधिजस्तै काम गर्छ। यही कारण, दही चिउराले नेपाली संस्कृतिमा गहिरो ठाउँ बनाएको छ।

धान दिवसको ऐतिहासिक पृष्ठभूमि

नेपाल सरकारले वि.सं. २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन सुरु गर्‍यो। कृषिप्रधान देश भएकाले अधिकांश नेपालीको जीवनशैली खेतीसँग गाँसिएको छ।

धान रोप्ने यो समय किसानका लागि वर्षभरको अन्न जोहो गर्ने महत्त्वपूर्ण अवसर हो। आजकै दिन देशका विभिन्न भागमा असारे भाका, दोहोरी गीत र हिलो खेल्दै रोपाइँ गरिन्छ — “छुपु र छुपु हिलोमा…”जस्ता गीतहरूले खेतमा उत्सवको माहोल बनाउँछन्।

गर्मीको बेला खेतमा युवतीहरू रोपाहार र युवाहरू लाठे बनेर हिलो छ्यापाछ्याप गर्छन्। “असारमा हिलो नछामे किसानै होइन” भन्ने भनाइ अझै ग्रामीण समाजमा जीवित छ।

तर यस वर्ष असारको मध्यसम्म देशका अधिकांश भागमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ। कतिपय ठाउँमा रासायनिक मलको अभावसमेत देखिएको किसानहरूको गुनासो छ। यद्यपि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल पर्याप्त रहेको दाबी गरेको छ।

 असार १५ केवल रोपाइँको पर्व मात्र नभई श्रम, संस्कार र सामूहिक जीवनशैलीको प्रतीक बनेको दिन हो — जहाँ हिलोमा पसिन्छ, दही चिउरा खानिन्छ, र नयाँ आशाका बीउ रोपिन्छन्।