‘व्रिटिस गोर्खा सैनिकको माग र नेपाली नागरिकताको निरन्तरता स्वाभाविक छ’

राजनीति

संविधानविद् वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञावलीद्वारा लिखित ‘सुगौली सन्धि र नेपालमा नागरिकता ः व्रिटिस गोर्खा बंशजको नागरिकता निरन्तरता’ पुस्तक विमोचन गरिएको छ । शनिबार एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले व्रिटिस गोर्खा सैनिकलाई नेपाली नागरिकताको निरन्तरता दिनुपर्ने विषयमा आफ्नो धारणा राखेका छन् । उनीहरूले सो विषयलाई गम्भीर बहस र छलफलको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

कांग्रेस सभापति देउवाले व्रिटिस गोर्खा सैनिकले पनि अन्य सैनिक सरह सेवा र सुविधा पाउनुपर्ने बताउँदै नागरिकताको निरन्तरताको माग स्वभाविक भएको धारणा राखे ।

उनले भने, ‘व्रिटिस गोर्खा सैनिकहरुले अरु सैनिक सरह नै सेवा र सुविधा पाउनुपर्छ  भन्नेमा म स्पष्ट छु । व्रिटिस गोर्खा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरताको कुरा उठाएका छन् । यस विषयमा राजनीतिक दलहरुले बहस, छलफल गरेर स्पष्ट गर्नेछन् ।  व्रिटिस गोर्खा सैनिकहरुले नेपाली नागरिकताको निरन्तरता पाउनुपर्छ भन्ने कुरा उठाउनु स्वभाविक हो ।’

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा नागरिकता विषयमा बुझाइको कमी रहेको उल्लेख गर्दै गहिरो सोचसहित समसामयिक विश्व प्रवृत्तिलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।

उनले कुनै पनि चिजलाई बुझ्ने विश्वको पछिल्लो प्रवृत्तिसँग आत्मसात गर्ने र त्यसअनुसार आफ्नो पहिचान मिलाउने कुरामा नेपालीहरु सधैं चुकिरहेको बताए ।

उनले भने, ‘नागरिकता भन्ने विषयमा नेपालमा बुझाइको अलपदा छ । एउटा गहिराइमा गएर कुनैपनि चिजलाई बुझ्ने विश्वको पछिल्लो प्रवृत्तिसँग आत्मसात गर्ने र त्यसअनुसार आफ्नो पहिचान मिलाउने कुरामा सधैं चुकेका छौं । अब यो व्रिटिस गोर्खा सैनिकहरुले नेपाली नागरिकताको निरन्तरता पाउनुपर्छ भन्ने विषयलाई सच्याउनुको निम्ती सबैले आत्मसात गरौं ।’