“Nepal’s Credit Engine Gains Momentum: निजी क्षेत्रको कर्जा प्रवाह ७.३ प्रतिशतले बढ्यो

अर्थ समाचार

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख मसान्तसम्म यो कर्जा ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

गत वर्षको सोही अवधिमा भने कर्जा २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँले मात्र वृद्धि भएको थियो।

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ। वैशाख मसान्तसम्म गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६३.१ प्रतिशत कर्जा प्रवाह भएको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.९ प्रतिशत कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष यो अनुपात क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत थियो।

वित्तीय संस्थाहरूको वर्गीकरण अनुसार समीक्षा अवधिमा वाणिज्य बैंकबाट प्रवाह भएको कर्जा ७.६ प्रतिशतले, विकास बैंकबाट ४.१ प्रतिशतले र वित्त कम्पनीबाट प्रवाह भएको कर्जा ६.५ प्रतिशतले वृद्धि भएको देखिएको छ।

उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल लगानीमा रहेको कर्जामध्ये १४.६ प्रतिशत चालु सम्पत्तिको (कृषि तथा गैर–कृषिज उत्पादन) सुरक्षणमा, भने ६५.१ प्रतिशत घरजग्गा धितो सुरक्षणमा रहेको छ। गत वर्ष यस्तै कर्जाको अंश क्रमशः १२.१ र ६८.५ प्रतिशत थियो।

क्षेत्रगत विश्लेषण अनुसार औद्योगिक उत्पादन क्षेत्रमा प्रवाहित कर्जा ९.० प्रतिशतले, निर्माण क्षेत्रमा १२.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रमा ११.९ प्रतिशतले, सेवा उद्योग क्षेत्रमा ७.९ प्रतिशतले र उपभोग्य क्षेत्रमा ८.८ प्रतिशतले वृद्धि भएको छ।

यस अवधिमा कर्जाको प्रकृतिअनुसार आवधिक कर्जा ५.१ प्रतिशत, मार्जिन कर्जा ३९.३ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशत, हायर पर्चेज कर्जा ४.१ प्रतिशत, नगद प्रवाह कर्जा ३.४ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घरसमेत) ५.२ प्रतिशतले बढेको छ। तर, अधिविकर्ष कर्जा भने १२.९ प्रतिशतले घटेको छ।