निर्जला एकादशी आज, घर–घरमा तुलसीको बीउ राखिँदै

संकृति - सम्पदा समाचार

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरू आज आफ्ना घर–आँगनका मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बीउ राख्ने परम्परा छ। यो एकादशीलाई निर्जला एकादशी पनि भनिन्छ।

धार्मिक मान्यताअनुसार, आज राखिएको तुलसीको बीउ एक महिनापछि, आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन रोपिन्छ। यस दिनदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिना अवधिलाई चतुर्मास भनिन्छ। यही अवधिमा तुलसीलाई हुर्काइ बढाइ, अन्ततः भगवान दामोदर (विष्णु) सँग विवाह गरिन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।

चतुर्मासमा स्नान, पूजन र दान गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ। धर्मशास्त्रअनुसार निर्जला एकादशीमा पानीसमेत नपिई व्रत बस्दा विशेष पुण्य प्राप्त हुने भनाइ छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार व्रत गर्न सक्नेले जलसमेत नखाई उपवास बस्ने चलन छ भने असक्त व्यक्तिहरूका लागि फलफूल खाएर व्रत बस्न सकिने व्यवस्था पनि छ।

आयुर्वेदमा तुलसीलाई लाभकारी औषधिका रूपमा लिइन्छ, जसले अनेक रोगको उपचारमा सहयोग गर्छ। तुलसीमा प्रचुर मात्रामा अक्सिजन पाइने कुरा आधुनिक विज्ञानले समेत पुष्टि गरिसकेको छ।

यस अवसरमा देशभरका नारायणस्थान तथा विष्णु मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्ने गर्दछ।