”वन बल, वन गेम”: ICC को गेमचेजर मुभ!

खेलकुद समाचार

इन्टरनेसनल क्रिकेट काउन्सिल (ICC) ले आगामी महिना (जुलाई) देखि क्रिकेटका नयाँ प्लेइङ कन्डिसनहरू लागू गर्ने भएको छ। यस अन्तर्गत एकदिवसीय (वनडे) क्रिकेटमा अब दुई होइन, फेरि एकै बलको प्रयोग गरिनेछ।

टेस्ट खेलका लागि भने यी नयाँ नियमहरू १७ जुनदेखि श्रीलंका र बंगलादेशबीच श्रीलंकामा सुरु हुने पहिलो टेस्ट खेलबाट लागू हुनेछन्।

हालसम्म ५० ओभरको खेलमा हरेक पारीमा दुईवटा नयाँ बलको प्रयोग हुने व्यवस्था थियो। तर नयाँ नियम अनुसार खेलको सुरुवातमा दुई बल प्रयोग गरिने भए पनि ३५औं ओभरदेखि खेलको अन्त्यसम्म एउटामात्र बल प्रयोग गरिनेछ।

ICC का अनुसार, “पहिलो ओभरदेखि ३४औं ओभरसम्म दुई बलको प्रयोग हुनेछ। ३५औं ओभर सुरु हुनु अघि फील्डिङ टोलीले ती दुईमध्ये एक बल रोज्नेछ र त्यसै बललाई बाँकी खेलमा प्रयोग गरिनेछ।”

यदि कुनै खेल २५ ओभर वा सोभन्दा कममा घटाइन्छ भने एउटै नयाँ बल प्रयोग गरिनेछ।

अन्य परिवर्तनहरू

कन्कशन रिप्लेसमेन्ट (सिरमा चोट लागेका खेलाडीको स्थानमा आउने): अब प्रत्येक टोलीले खेल सुरु हुनु अघि पाँच सम्भावित रिप्लेसमेन्ट खेलाडीहरूको सूची (विकेटकिपर, ब्याट्सम्यान, फास्ट बलर, स्पिनर र अलराउन्डर) म्याच रेफ्रीलाई बुझाउनुपर्नेछ।

असाधारण अवस्थामा: यदि रिप्लेसमेन्ट खेलाडी पनि कन्कशनको शिकार भएमा, म्याच रेफ्रीले विशेष निर्णय लिनेछन्, र आवश्यक परेमा पाँच खेलाडी बाहेक अन्य खेलाडीलाई पनि स्वीकृति दिन सकिनेछ।

डीआरएस र बाउन्ड्री क्याच जस्ता नियमहरूमा साना परिमार्जनहरू गरिएका छन्।

डब्लुएटीसी फाइनलमा पुरानै नियम लागु हुने
११ जुनदेखि लर्ड्समा हुने वर्ल्ड टेस्ट च्याम्पियनसिप (WTC) को फाइनल खेल (अस्ट्रेलिया बनाम दक्षिण अफ्रिका) मा भने पुरानै नियमहरू लागू हुनेछन्। नयाँ नियमहरू WTC को अर्को चक्रबाट लागू गरिने बताइएको छ।

नयाँ नियम कहिलेदेखि लागू?
टेस्ट क्रिकेट: १७ जुनदेखि श्रीलंका र बंगलादेशबीच श्रीलंकामा सुरु हुने पहिलो टेस्टबाट।

वनडे: २ जुलाईदेखि कोलम्बोमा श्रीलंका र बंगलादेशबीच हुने पहिलो एकदिवसीय खेलबाट।

टी-२० अन्तर्राष्ट्रिय: १० जुलाईदेखि ती दुई टोलीबीच हुने पहिलो टी-२० खेलबाट।