आज भोटो जात्रा , काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

संकृति - सम्पदा

र्षा र समृद्धिका देवता रातो मच्छेन्द्रनाथको भोटो आज विशेष समारोहबीच देखाइँदैछ। यस अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

रथयात्राको अन्त्यमा भोटो देखाउने परम्परालाई “भोटो जात्रा” भनिन्छ, जुन ऐतिहासिक रूपमा झण्डै आठ सय वर्ष पुरानो मानिन्छ। पहिले यस जात्रालाई “जावलाखेल जात्रा” नामले चिनिन्थ्यो। “जा” अर्थात् भात र “वला” अर्थात् छर्नु भन्ने अर्थ बोकेको हुँदा यस्तो नाम रहन गएको बताइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार यो जात्राको सुरुवात भूतप्रेतलाई भोजन अर्पण गर्न गरिएको विश्वास छ।

यद्यपि, भोटो जात्रा कहिलेदेखि सुरु भयो भन्ने स्पष्ट मिति उपलब्ध छैन। तर मच्छेन्द्रनाथको यात्रा करिब १,३०० वर्षअघिदेखि चलिआएको किंवदन्ती छ। नागराज कर्कोटककी रानीको आँखामा समस्या आएपछि वैद्यको खोजीमा एक किसानलाई टौदहस्थित नागलोक लगिएको र त्यहाँ मच्छेन्द्रनाथको प्रार्थना गरेर बनाएको औषधिबाट रानीको आँखाको रोग निको भएको भनिन्छ। त्यसबापत किसानलाई मणिमाणिक्यले सजिएको भोटो पुरस्कारस्वरूप दिइएको थियो।

तर त्यो भोटो पछि एक मानव रूपी भूतले लगेर गएको कथन छ। किसानले मच्छेन्द्रनाथको जात्रामा भाग लिँदै गर्दा त्यो भोटो अरूको शरीरमा देखेपछि दाबी गरे। तर दुवै पक्षले प्रमाण पेश गर्न नसकेपछि भोटोको स्वामित्व मच्छेन्द्रनाथलाई जिम्मा लगाइएको थियो।

त्यसयता, हरेक वर्ष रथयात्रा सकिएपछि साइत हेरी भोटो देखाउने परम्परा बसालिएको हो। हालसम्म कसैले पनि सो भोटोमा आफ्नो दाबी प्रमाणसहित पेश गर्न नसकेको मानिन्छ।

हाल भोटो गुठी संस्थान ललितपुरका प्रतिनिधिबाट राष्ट्राध्यक्षको उपस्थितिमा देखाउने चलन रहिआएको छ। यस सांस्कृतिक तथा धार्मिक महत्वको दिनमा सरकारले उपत्यकाभर सार्वजनिक बिदा दिएको छ।