नेपाल धितोपत्र बोर्ड अध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच शिष्टाचार भेट, वित्तीय अनुशासन र पूँजी बजारको सुदृढीकरणमा समन्वयको जोड

अर्थ समाचार

काठमाडौं,  नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले आज नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

भेटका क्रममा दुबै नियामक प्रमुखले देशको वित्तीय प्रणालीलाई अझ गतिशील र अनुशासित बनाउन आपसी समन्वय र सहकार्य अत्यावश्यक रहेकोमा एकमत व्यक्त गरे। उनीहरूले आर्थिक स्थायित्व र विकासमा नियामक निकायहरूको भूमिकालाई प्रभावकारी बनाउन संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिए।

साथै, पूँजी बजारलाई अझ सशक्त बनाउने विषयमा पनि छलफल भएको थियो। लगानीकर्ताहरूका मागहरूलाई समयसापेक्ष रूपमा सम्बोधन गर्दै बजारमा विश्वास र सहभागिता बढाउने दिशामा पहल गर्नुपर्नेमा दुवै पक्ष सहमत देखिएका छन्।

यस भेटलाई नियामक संयन्त्रहरूबीचको सहकार्यका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।