काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी विस्तार अपरिहार्य रहेको बताएका छन्।
काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (BITM) को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको पर्यटन सम्भावनालाई साकार बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
उहाँले पर्यटन पूर्वाधार, विशेषतः अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुदृढीकरणमा जोड दिनुभयो। “गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अर्बौंको लगानीमा निर्माण भए पनि पूर्णरूपमा सञ्चालनमा आउन नसक्नु चिन्ताजनक हो,” उहाँले भन्नुभयो, “यसले निजी क्षेत्रको लगानी जोखिममा पारेको छ।”

ढकालले नेपाललाई बौद्ध पर्यटनको केन्द्र बनाउने उद्देश्यले लुम्बिनी लगायतका तीर्थस्थलहरूलाई भारतका बौद्ध स्थलहरूसँग जोडेर बौद्ध सर्किट विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले लुम्बिनीको आध्यात्मिक वातावरणलाई ध्यान, योग, र कल्याण पर्यटनको केन्द्रका रूपमा विस्तार गर्न सकिने बताए।
“आजको तनावपूर्ण जीवनशैलीमा विश्वभरका मानिसहरू शान्तिको खोजीमा छन्, लुम्बिनीले उनीहरूलाई त्यस्तो वातावरण दिन सक्छ,” उहाँले भने।
पर्यटन प्रवर्द्धनमा कनेक्टिभिटी महत्वपूर्ण भएकाले अन्तर्राष्ट्रिय उडानहरू बढाउनु पर्ने उहाँको भनाइ थियो। यसै सन्दर्भमा, ढकालले नेपालको उच्च हवाई भाडा र विमान टिकटमा लाग्ने भ्याटसम्बन्धी नीतिमा पुनर्विचार गर्न पनि सरकारलाई आग्रह गरे।
नेपालमा विवाह, बैठक र सम्मेलन पर्यटनको अपार सम्भावना रहेको बताउँदै ढकालले भारतीय पर्यटकहरूप्रति प्रचलित मुद्रा ल्याउने सीमा परिवर्तन गर्नुपर्ने धारणा राखे। “१५ करोडभन्दा बढी भारतीय मध्यम वर्गमा प्रवेश गरिसकेका छन्,” उहाँले भने, “उनीहरूलाई मात्र २५ हजार रुपैयाँ ल्याउन दिने प्रावधानलाई परिमार्जन गरी अन्य देशका पर्यटकजस्तै ५ हजार अमेरिकी डलरसम्म ल्याउन दिने व्यवस्था गर्नुपर्छ।”
कार्यक्रममा ढकालले विदेशी लगानीकर्ताहरूलाई नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न आह्वानसमेत गरे। “हामीसँग सम्भावना छ, अब पहल चाहिन्छ,” उहाँले जोड दिनुभयो।
