काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नहरूको लिखित तथा मौखिक रूपमा जवाफ दिने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
त्यसैगरी, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले जानकारी दिए।

साथै, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ।
