टेरामक्स भ्रष्टाचार मुद्दा : सांसद मोहनबहादुर बस्नेत पदबाट निलम्बित

अर्थ समाचार

काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा बस्नेतसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध मिलेमतोमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि बस्नेत स्वतः निलम्बनमा परेका हुन्। भ्रष्टाचार निवारण ऐनको दफा ३३ अनुसार मुद्दा दायर भएलगत्तै सार्वजनिक पदमा रहेका व्यक्तिहरू स्वतः निलम्बित हुने व्यवस्था छ।

मुद्दा बस्नेत सञ्चारमन्त्री रहेका बेला गरिएको टेरामक्स खरिद प्रक्रियासँग सम्बन्धित छ। अख्तियारले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी भएको दाबी गर्दै भ्रष्टाचारको आरोपमा बिहीबार मुद्दा दायर गरेको हो।

बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।