मुगु, रारा – नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य, स्वर्ग जस्तो रारा तालको काखमै रहेको ताल्चा विमानस्थल आजकल आफैं संकटमा परेको छ। जहाँ विमान ओर्लिनु पर्ने हो, त्यहाँ चौपाया, मान्छे र चराहरू निर्बाध घुमिरहेका छन्। सुरक्षा छैन, सेवा छैन, संरचना अधुरो – र त्यो पनि वर्षौं ढिलाइमा!
ताल्चा विमानस्थल अहिले सानो काठको जिर्ण टहराबाट सेवा दिइरहेको छ। चारैतिर खुल्ला मैदान, जसबाट चौपाया र स्थानीय निर्वाध प्रवेश गर्छन्, जसका कारण हवाई यात्रामा सिधै जोखिम थपिएको छ।
झन् चकित पार्ने कुरा – ८ करोड ६५ लाख रुपैयाँको ठेक्का लिएर टर्मिनल र टावर भवन बनाउने जिम्मा पाएको ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सन विगत ३ वर्षदेखि सम्पर्कमै छैन। अधुरो संरचना लथालिङ्ग अवस्थामा छन्। न टर्मिनल भवन, न सुसज्जित टावर – यात्रु र पर्यटकहरूलाई खुला आकाशमुनी सास्ती खेप्न बाध्य बनाइएको छ।


वि.सं. २०६० देखि सञ्चालनमा आएको विमानस्थल २०७२ मा कालोपत्रे भए पनि आवश्यक भौतिक पूर्वाधार नहुँदा जोखिम बढ्दो छ। पहिरोको जोखिम झनै गम्भीर बनेको छ। वैकल्पिक बाटो नहुनाले यात्रुहरू हिँडेरै जोखिमपूर्ण ट्रयाक पार गरेर विमानस्थल पुग्न बाध्य छन्।
सुरक्षाको हालत झनै त्रासदीपूर्ण छ। विमानस्थल वरिपरि बनाइएको घेराबार ठाउँ–ठाउँमा चोरेर लैजाने गरिन्छ। सुरक्षा पोस्टको प्रमुख मिल बरियाका अनुसार, “पशु चौपाया भित्र पस्दा विमानस्थलमा गम्भीर अवरोध आउँछ। जरिवाना लागे पनि उनीहरू बिहान–साँझ सहजै भित्रिन्छन्।”
त्यसैगरी, सामान्य हावाहुरी चले पनि सिधै सेवा प्रवाह अवरुद्ध हुने गरेको छ। यस्तो संवेदनशील क्षेत्रमा लापरवाहीपूर्वक ठेकेदारी गर्ने कम्पनी कानूनी कारवाहीबाट पनि उम्किरहेको छ, जुन झनै आपत्तिजनक विषय हो।
स्थानीय यात्रु जय बहादुर मल्ल भन्छन्, “यो विमानस्थल पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण छ, तर सरकारले आँखै चिम्लेको छ। चारैतिरको अवस्था भयावह छ – धावनमार्ग वरिपरि जमिन वर्षेनी भासिन्छ।”
यस जोखिमपूर्ण अवस्थामा पनि तारा, गोमा र सिता एयरलाइन्सका जहाजहरूले दैनिक उडान गरिरहेका छन् – मानौं, उनीहरूले ज्यानको बाजी नै लगाइरहेका छन्।
दान बहादुर बुढा(नेपाल न्यूज बैंक)


