नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र प्रसाद ढकालले काठमाडौंमा आयोजित “”An Aspiring Nepal”” संगोष्ठीमा भारतीय लगानीकर्ताहरूलाई नेपालको प्रमुख आर्थिक क्षेत्रहरूमा लाभदायक लगानीका अवसरहरूको खोजी गर्न आग्रह गरेका थिए ।
नेपाल र भारतका प्रतिष्ठित व्यवसायी तथा नीतिनिर्माताहरूको उपस्थितिमा सम्बोधन गर्दै अध्यक्ष ढकालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा ४.९ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै नेपालको उल्लेखनीय आर्थिक प्रगतिको चर्चा गरेका थिए ।
“हाम्रो कृषि र औद्योगिक क्षेत्रले विशेष राम्रो प्रदर्शन गर्दै आर्थिक वृद्धिलाई गति दिइरहेका छन्,” उहाँले भन्नुभयो, यद्यपि सेवा क्षेत्रमा केही चुनौतीहरू कायम रहेको पनि उहाँले स्वीकार गर्नुभयो।

अध्यक्ष ढकालले नेपालमा समष्टिगत आर्थिक स्थिरतामा रहेको बताउँदै हाल $१७.२७ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिति रहेको पनि उल्लेख गरेका थिए ।
अध्यक्ष ढकालले नेपालको जनसांख्यिक लाभलाई विशेष रुपमा उल्लेख गर्दै, २५ वर्षको औसत उमेर भएको युवा, प्रविधिमैत्री जनशक्तिले व्यवसाय वृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए ।
ढकालले ऊर्जा, व्यापार र उदयमान क्षेत्रहरूमा लगानीका लागि उच्च सम्भावना भएको उल्लेख गर्दै भारतले आगामी १० वर्षमा नेपालबाट १०,००० मेगावाट विद्युत् किन्ने सम्झौतालाई ऐतिहासिक कदम भएको बताए ।
त्यस्तै, २०२६ मा नेपालले विकासोन्मुख राष्ट्रको दर्जा प्राप्त गरेपश्चात पनि भारतीय बजारमा नेपाली उत्पादित वस्तुहरूलाई शुल्कमुक्त पहुँच उपलब्ध हुने सहमतिको निरन्तरताको पनि चर्चा गरेका थिए।
सूचना तथा सञ्चार प्रविधि (ICT), पर्यटन, र व्यावसायिक कृषि क्षेत्रहरूमा बढ्दो अवसरहरूबारे पनि उनले जानकारी दिएका थिए।
FNCCI अध्यक्ष ढकालले नेपालमा लगानीको वातावरणमा उल्लेखनीय सुधार आएको भन्दै विदेशी प्रत्यक्ष लगानी (FDI) प्रक्रिया सहज पारिएको ‘स्वचालित मार्ग’ प्रणालीको कार्यान्वयन र ३० भन्दा बढी कानुनहरू संशोधन गरिएको उल्लेख गरेका थिए ।
“यी सुधारहरूले नेपालमा लगानी गर्न र व्यवसाय गर्न सरकारको दृढ प्रतिबद्धता देखाउँछन्,” ढकालले जोड दिएका थिए।
ढकालले अन्तर्राष्ट्रिय व्यवसायिक समुदायलाई हार्दिक निमन्त्रणा दिँदै भनेका थिए: “हाम्रो रणनीतिक स्थान, सुधारोन्मुख पूर्वाधार, दक्ष जनशक्ति र लगानीमैत्री नीतिहरूका साथ, नेपालले बहुआयामिक क्षेत्रमा अनुपम अवसरहरू प्रदान गर्छ। हामी भारतीय तथा विश्वव्यापी लगानीकर्ताहरूलाई हाम्रो राष्ट्रको उत्साहजनक विकास यात्रामा सहभागी हुन आमन्त्रण गर्दछौं।”
संगोष्ठीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का सदस्य संजीव सान्याल, दुबै देशका उच्च सरकारी अधिकारीहरू तथा व्यवसायिक नेताहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रमले नेपाल–भारतबीच आर्थिक सम्बन्ध बलियो बनाउने र द्विपक्षीय सहकार्यका नयाँ सम्भावनाहरूको अन्वेषण गर्ने महत्वपूर्ण मञ्चको रूपमा काम गरेको छ।
