सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम आज संघीय संसद्मा प्रस्तुत हुँदैछ।
संविधानको धारा ९५ अनुसार, राष्ट्रपतिको सम्बोधनमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरिने प्रावधानअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको हो।
संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकका लागि सम्भावित कार्यसूची तय भइसकेको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सदस्यहरूलाई दिउँसो २ बजेर ४५ मिनेटभित्र निर्धारित पोशाकमा उपस्थित भई आशन ग्रहण गर्न आग्रह गरिसकेका छन्।

यसअघि सत्ता साझेदार दलहरूबीच अर्थतन्त्रलाई गतिशील बनाउने गरी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ। नीति तथा कार्यक्रम युवामा आशा जगाउने, उद्यमशीलता प्रवर्द्धन, सीप विकास, स्टार्टअप प्रोत्साहन, व्यावसायिक योजना विस्तार, सरकारी खर्चमा वृद्धि तथा सुशासनलाई केन्द्रमा राख्ने अपेक्षा गरिएको छ।
संसद् सचिवालयले वैशाख २२ देखि २८ गतेभित्र नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यतालिका निर्धारण गरिसकेको छ। त्यसपछि वैशाख ३० गतेदेखि विनियोजन विधेयकसम्बन्धी सिद्धान्त र प्राथमिकता विषयमा छलफल सुरु हुनेछ, जसलाई प्रि–बजेट छलफलका रूपमा लिइन्छ।
नेपालको संविधानअनुसार आगामी जेठ १५ गते अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछन्।
