भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली विद्यार्थी शंकास्पद अवस्थामा मृत फेला परेकी छन्। बिहीबार साँझ कम्युटर साइन्समा प्रथम वर्ष अध्ययनरत वीरगंज निवासी नेपाली विद्यार्थी प्रिषा साह मृत फेला परेको बताइएको छ ।
गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्।


आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन्। कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन्।
त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो। कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो। घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो।
पछि यस घटनामा कलेज प्रशासनले माफीसम्म माग्नु परेको थियो।
प्रकृतिको घटनापछि अर्का एक तृतीय वर्षमा अध्ययनरत भारतीय विद्यार्थी पनि मृत फेला परेका थिए।
