काठमाडां ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध बेडरुमसम्म बिचौलियाको पहुँच भएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। प्रधानमन्त्री ओलीको यो प्रतिक्रिया नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित छ।
महामन्त्री थापाले हालै एक कार्यक्रममा प्रधानमन्त्रीको शयनकक्ष (बेडरुम) सम्म बिचौलियाहरूको पहुँच हुने गरेको दाबी गरेका थिए। यसै आरोपप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले थापालाई आफ्नो भनाइको प्रमाण प्रस्तुत गर्न आग्रह गरेका हुन्।
मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आरोपहरु लगाउने गरेको बताएका हुन् ।

देशमा एमाले र नेपाली काँग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता भएको भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए ।
‘झुुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ ।’, प्रधानमन्त्री ओलीले भने, ‘आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन । एमालेले आफूूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुुन्छौँ ।’
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुुस भएको टिप्पणी गरे ।
पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणत्मक चेत राख्न सुुझाव दिए ।
‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन,’ उनले भने ।
