जलवायु परिवर्तनका चुनौतीहरूबारे बालबालिका तथा युवाहरूको आवाज बुलन्द बनाउन काठमाडौंमा वैशाख १३ गते ‘बायु संवाद’ कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार र संयुक्त राष्ट्रसंघ (युनिसेफ, एफएओ, यूएनडीपी)को सहकार्यमा आयोजित कार्यक्रममा देशभरिका १०० भन्दा बढी बालबालिका तथा युवाहरूले सहभागिता जनाएका थिए ।
सगरमाथा संवादअगाडि आयोजित यस राष्ट्रिय संवादले जलवायु परिवर्तन प्रतिकार्यका विषयमा बालबालिका तथा युवाहरूलाई केन्द्रमा राख्दै उनीहरूकै दृष्टिकोण प्रस्तुत गर्न अवसर दिएको थियो। नेपालको कुल जनसंख्याको लगभग आधा हिस्सा ओगट्ने २४ वर्षमुनिका युवाहरूले जलवायु संकटको अग्रपंक्तिमा आफूहरू रहेको र तत्काल कारवाहीको आवश्यकता रहेको सन्देश दिएका छन्।


कार्यक्रममा जलवायु परिवर्तनका असरहरू, समाधानहरू, र स्थानीय तहमा भएका पहलहरूबारे व्यापक छलफल भयो। सहभागीहरूले प्रदर्शनी, भिडियो प्रदर्शन, विज्ञ सत्रहरू, र अन्तरपुस्तक प्यानल छलफलमार्फत आफ्ना अनुभव तथा विचार साझा गरे। छलफलका मुख्य विषयहरूमा शिक्षा, स्वास्थ्य, पानी तथा जलवायु परिवर्तन र पर्वतीय पारिस्थितिकी प्रणालीहरू समेटिएका थिए।
२० वर्षीय युवा प्रतिनिधि निश्चल भट्टले भने, “जलवायु परिवर्तन भविष्यको मात्र समस्या होइन, यो आजकै यथार्थ हो। हामी परिवर्तन ल्याउन सक्ने शक्ति राख्छौं र जलवायु न्यायसहितको समाज निर्माणका लागि प्रतिबद्ध छौं।”
संयुक्त राष्ट्रसंघका कार्यवाहक आवासीय संयोजक डा. एलिस अकुङ्गाले बालबालिकालाई मात्र पीडित नभइ परिवर्तनका संवाहकका रूपमा हेर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “बालबालिका र युवाहरूको आवाज जलवायु प्रतिकार्यका सबै तहमा मार्गदर्शक बन्नुपर्छ।”

कार्यक्रमको एक मुख्य उपलब्धि सहभागीहरूले तयार गरेको घोषणापत्र हो, जसमा जलवायु उत्थानशील नेपाल निर्माणका लागि माग, प्रतिबद्धता र कार्ययोजना समेटिएको छ। उक्त घोषणापत्र सगरमाथा संवादको सचिवालयमा बुझाइनेछ, जसले नेपालको तेस्रो राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदान (NDC) तथा आगामी COP30 जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा बालबालिका र युवाको दृष्टिकोण समावेश गराउन मद्दत गर्नेछ।
कार्यक्रमका प्रमुख अतिथि तथा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले बालबालिका तथा युवाको आवाजलाई जलवायु नीतिमा समावेश गर्दै विश्वलाई उदाहरण दिएको बताए। उनले भने, “हामी हाम्रो तेस्रो राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदानलाई अझ समावेशी बनाउन प्रतिबद्ध छौं। बायु संवाद youths का आवाज नीतिमा रूपान्तरण गर्ने महत्वपूर्ण मञ्च बनेको छ।”

कार्यक्रमको अध्यक्षता गर्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले बालबालिका तथा युवाको अगुवाइमा भएको यो पहलले नेपालको नीति निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
