काठमाडौँ — नबिल बैंक लिमिटेड (NABIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, बैंक हालसम्म सबै वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै खुद नाफा कमाउन सफल भएको छ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंकले कुल ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सो अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो।
ब्याज आम्दानीमा केही गिरावट आए पनि इम्पेरमेन्ट चार्जमा भएको उल्लेख्य कमीका कारण नाफा बढ्न पुगेको हो। समीक्षावधिमा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेको छ भने फि तथा कमिशन आम्दानी २.२७ प्रतिशतले बढेको देखिएको छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ०.२० प्रतिशतले घट्दा पनि सञ्चालन मुनाफा भने १४.०३ प्रतिशतले वृद्धि भएको छ।

इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ३ अर्ब २३ करोड रुपैयाँबाट घटेर यस वर्ष २ अर्ब २९ करोड रुपैयाँमा झरेको छ। यही कारणले बैंकको खुद नाफा बढेको हो।
नाफा वृद्धि सँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि १ रुपैयाँ ६५ पैसाले बढेर २४ रुपैयाँ ८९ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी २ अर्ब ८७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा रहेको छ।
समीक्षा अवधिसम्ममा बैंकको मूल्य-आम्दानी अनुपात (P/E ratio) १९.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा पुगेको छ।
हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गर्दै ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
