ओली देउवा नौटङ्की: डा. भट्टविरुद्ध परेको ‘रिट’ उपर आज सर्वोच्चमा सुनवाई हुँदै 

अर्थ समाचार

नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने प्रक्रियामा रहेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टविरुद्ध दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ।

शुक्रबार अधिवक्ता विशाल थापा र प्रतिभा उप्रेतीले डा. भट्ट गभर्नर बन्ने योग्य नभएको भन्दै रिट दर्ता गराएका थिए। रिट दायर भएको दिनमै सर्वोच्च अदालतले सो मुद्दालाई फास्ट ट्र्याकमा राख्दै आजै सुनुवाई गर्ने निर्णय गरेको हो।

डा. भट्टलाई नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिमा राष्ट्र बैंकको १८औं गभर्नर बनाउने निर्णय भएको थियो। सो निर्णयपछि उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर, कार्यवाहक गभर्नर डा. नीलम ढुंगानाले उनको राजीनामा स्वीकृत गरेकी छैनन्। कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठको राजीनामा पनि हालसम्म स्वीकृत भएको छैन।

राष्ट्र बैंकमा डा. भट्ट वरिष्ठ कार्यकारी निर्देशक पनि होइनन्। यस्तै, कार्यकारी निर्देशक पदबाट सिधै गभर्नर नियुक्त हुने सामान्य अभ्यास नभएको भन्दै यो प्रक्रिया विवादास्पद बनेको छ। सत्ताधारी दलको यो निर्णयलाई लिएर चर्को आलोचना भइरहेको छ।

आजको सुनुवाईपछि डा. भट्ट गभर्नर बन्ने वा नबन्ने निर्णयमा स्पष्टता आउनेछ।

डा. गुणाकर भट्ट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। उनले राष्ट्र बैंकको विभिन्न विभागमा दीर्घकालीन अनुभव बटुलेका छन्। आर्थिक नीतिनिर्माण, मौद्रिक नीति विश्लेषण, तथा वित्तीय अनुसन्धानमा उनको विशेष दक्षता छ। उनी अर्थशास्त्रमा विद्यावारिधि (PhD) प्राप्त व्यावसायिक हुन्, जसले वित्तीय क्षेत्रको सुधार र सुदृढीकरणमा विविध योगदान पुर्‍याएका छन्।