तीनकुनेमा राजावादी सभा बिथोलियो, प्रदर्शनकारी तितरबितर

राजनीति समाचार

काठमाडौं – काठमाडौंको तीनकुनेमा जारी राजावादी समूहको सभा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि बिथोलिएको छ। निषेधित क्षेत्र पार गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षा बल प्रयोग गरिएको थियो। अश्रुग्यास प्रहारसँगै प्रदर्शनकारी तितरबितर भएका छन्।

राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको मागसहित विभिन्न स्थानबाट समर्थकहरू तीनकुनेमा भेला भएका थिए। सभामा सहभागी हुन देशभरिबाट मानिसहरू आइरहेका थिए, तर सुरक्षाकर्मीहरूले बानेश्वरतर्फ जाने सडक बन्द गरेका थिए। प्रहरी घेरा तोड्न खोजेपछि बल प्रयोग गर्नुपरेको सुरक्षा अधिकारीहरूको भनाइ छ।

सभा सुरु हुनुअघि नै तनाव बढेपछि नेताहरू कार्यक्रमस्थल छाडेका छन्। सुरक्षाकर्मीको हस्तक्षेपपछि आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन्। स्थिति थप जटिल नबनोस भनेर तीनकुने क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।