यागौंन, म्यान्मार, – म्यान्मारस्थित नेपाली राजदूतावासको आयोजनामा यागौंनमा दुई दिने ‘Nepal-Myanmar Trade and Tourism Expo 2025’ सफलतापूर्वक सम्पन्न भएको छ। ‘Coming together for Trade and Tourism Promotion’ नाराका साथ आयोजित एक्स्पोमा नेपाल र म्यान्मारका ५० भन्दा बढी व्यापार, पर्यटन, ट्राभल्स एण्ड टुर्स तथा सूचना प्रविधि (IT) कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाहरू प्रदर्शनी गरेका थिए।
मार्च २१ मा म्यान्मारका वाणिज्यमन्त्री U Tun Ohn र नेपालका राजदूत हरिश्चन्द्र घिमिरे द्वारा रिबन काटी तथा बेलुन उडाएर एक्स्पोको औपचारिक उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा नेपाल-म्यान्मार सम्बन्ध, व्यापार प्रवर्द्धन र पर्यटन सहकार्यबारे छलफल भएको थियो।
राजदूत हरिश्चन्द्र घिमिरे ले नेपाल र म्यान्मारबीचको ऐतिहासिक तथा धार्मिक सम्बन्धलाई व्यापार, पर्यटन, व्यवसाय र जनस्तरको सहकार्यमा रूपान्तरण गर्न एक्स्पो महत्त्वपूर्ण माध्यम रहेको बताउनुभयो। पर्यटन तथा IT सेवा क्षेत्रमा सहकार्य दुवै देशका लागि लाभदायक हुने उल्लेख गर्दै उहाँले व्यावसायिक साझेदारीलाई अघि बढाउन एक्स्पो प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।

म्यान्मारका वाणिज्यमन्त्री U Tun Ohn ले लुम्बिनी म्यान्मारका बौद्ध धर्मावलम्बीहरूका लागि विशेष महत्त्वको गन्तव्य भएको उल्लेख गर्दै नेपाल-म्यान्मारबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
नेपाल पर्यटन बोर्ड (NTB) की वरिष्ठ प्रबन्धक रानु शाह ले नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूबारे प्रस्तुति दिँदै नेपाल-म्यान्मार पर्यटन प्रवर्द्धनका सम्भावनाहरूबारे प्रकाश पार्नुभयो। UMFCCI का सहमहासचिव Kyaw Dewa ले नेपाल-म्यान्मार व्यापार सम्बन्ध र सम्भावनाहरूबारे जानकारी गराउनुभयो।
नेपाली IT कम्पनीका प्रतिनिधि विनोद पोखरेल ले नेपालका सूचना प्रविधि क्षेत्रको विकास र लगानी अवसरबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।

करिब २५० जना सहभागी भएको एक्स्पोमा यागौंन क्षेत्रका मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री, UMFCCI का पदाधिकारीहरू, Women Entrepreneurs Network (MYAWEN), Myanmar Travel Association (UMTA), Myanmar Travel Federation (MTF) र Myanmar Tourism Marketing Association (MTMA) का प्रतिनिधिहरू, बैंक तथा व्यवसायीहरू, साथै नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो।
राजदूत घिमिरेले नेपाल पर्यटन बोर्ड (NTB), KK Business Group, Kyay O Kyee Petroleum Products Co. Ltd, Myanma Tourism Bank, Awesome Asia, Info Developers, Onepoint Financial Services, Citytech, Smart Choice Technologies, Diyalo Technologies लगायतका सहयात्री संस्थाहरूप्रति आभार प्रकट गर्नुभयो।
नेपालबाट सहभागी होटल तथा ट्राभल्स एण्ड टुर्स कम्पनीहरू Hotel Manaslu Pvt. Ltd., Hotel Ratnashambhava Pvt. Ltd., Jugal Holidays, Himalayan 360, Namaste Tourism and Holidays Pvt. Ltd., साथै 2PM Noodles तथा FMCG कम्पनी Asian Thai Foods Pvt. Ltd. लाई पनि सहभागिताका लागि धन्यवाद दिइएको थियो।
नेपाल-म्यान्मार व्यापार तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण कदमको रूपमा यो एक्स्पो सफलतापूर्वक सम्पन्न भएको छ।
