प्रधानमन्त्री के.पी. शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली प्रति फागु पूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सव समेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुन् ।
फागु पूर्णिमालाई होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गरेका छन् ।

“फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ । हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ । मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ– यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ ,” फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्, “हर्ष र उमङ्गको क्रीडापर्व फागु पूर्णिमाको सबैलाई शुभकामना ! ह्याप्पी होली !”
