मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

खेलकुद

तेस्रो मन्थली नगर कप रनिङसिल्ड पुरुष तथा प्रथम महिला रनिङसिल्ड भलिबल प्रतियोगिता शनिबारबाट मन्थलीमा सुरु भएको छ ।

नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पाँच दिनसम्म चल्ने छ । प्रतियोगितामा मन्थली नगरपालिकाका १४ वटा पुरुष र ७ वटा महिला टिमले भाग लिएका छन् ।

प्रतियोगितामा प्रथम हुने पुरुष समूहले १ लाख रुपैँया नगद पुरस्कार, सिल्ड तथा मेडल पाउने छ । महिला समूहले ५० हजार रुपैँया नगद, सिल्ड र मेडल पाउने छ । प्रतियोगिताका लागि १२ लाख रुपैँया विनियोजन गरिएको मन्थली नगरपालिकाले जनाएको छ ।

खेल आगामी फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको दिन समापन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले गरे ।

कार्यक्रममा बोल्दै श्रेष्ठले खेलाडीबाट राम्रो खेलको आशा गर्नु अघि उनीहरूका आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्ने बताए । अहिले सरकार खेल क्षेत्रको व्यवस्थित विकास गर्नुपर्छ भनेर अघि बढेको उनको भनाइ छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, जिल्ला स्थित राजनीतिक दलका नेताहरू लगायतको उपस्थिति रहेको थियो ।