सामाजिक सञ्जालमा बैंकिङ क्षेत्रविरुद्धको अफवाहप्रति बैंकरहरुको आपत्ति

अर्थ समाचार

काठमाडौं: बैंकिङ क्षेत्रका प्रमुख चार संस्थाहरुले हालै बैंकिङ प्रणालीलाई अस्थिर बनाउने अराजक गतिविधिहरू भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्। शुक्रबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, तथा नेपाल लघुवित्त बैंकर्स संघ ले यस्ता गतिविधिहरूको आडमा रहेका व्यक्तिहरूलाई कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा बैंक तथा वित्तीय संस्थाहरूको नाम जोडेर भ्रामक तथा गलत सूचना फैलाउने प्रयासप्रति चिन्ता व्यक्त गरेका छन्। यस्ता अफवाहहरूले बैंकिङ प्रणालीमा अनावश्यक त्रास र अन्यौलता सिर्जना गर्न सक्ने भन्दै, जनतालाई आधिकारिक निकायबाट मात्रै सूचना प्राप्त गर्न आग्रह गरिएको छ।

बैंकिङ क्षेत्रका निक्षेपकर्ताहरूलाई ढुक्क रहन आश्वस्त पार्दै निक्षेपको सुरक्षा सुनिश्चत गरिएको बताएका छन्। नेपाल राष्ट्र बैंकका नियमनअनुसार प्राकृतिक व्यक्तिको नाममा रहेको ५ लाखसम्मको निक्षेप “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ।

बैंकिङ क्षेत्र नेपाल राष्ट्र बैंकको निगरानीमा रहेर पारदर्शी रूपमा सञ्चालित रहेको र अन्तर्राष्ट्रिय बैंकिङ मापदण्डहरू (वासेल गाइडलाइन) तथा नेपाल राष्ट्र बैंकका नीतिहरूको पूर्ण पालना गरिएको संघहरूको दाबी छ। वित्तीय संस्थाहरूमा जोखिम व्यवस्थापन क्षमता पर्याप्त रहेको र वर्तमान अवस्थामा बैंकहरू सुरक्षित रहेको जनाइएको छ।

आम जनमानस, ग्राहकवर्ग, सञ्चारमाध्यम तथा सम्बन्धित सरोकारवालाहरूप्रति आभार व्यक्त गर्दै, भ्रामक सूचनाबाट प्रभावित नभई आधिकारिक तथ्यहरूमा विश्वास गर्न अनुरोध गरेका छन्। साथै, आगामी दिनमा बैंकिङ सेवाहरूलाई अझ मजबुत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।