लामो समय देखी क्रेडिट डिमान्ड क्राइसेसमा रहेका नेपाली मनी मार्केटमा यस पटक क्रेडिट डिमान्डमा ग्रोथ देखिएको छ |
चालु आर्थिक वर्ष ०८१-८२ को पहिलो छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट कुल २ खर्ब ६७ अर्ब ९९ करोड कर्जा प्रवाह भएको छ। समीक्षा अवधिमा कर्जा विस्तार ५.१८ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, यो अवधिमा वस्तु आयात ७.१ प्रतिशतले बढ्दा समग्र कर्जा परिचालनमा सुधार देखिएको छ। पुससम्मको तथ्यांकअनुसार, व्यक्तिगत ओभरड्राफ्ट र विपन्न वर्ग कर्जा बाहेक अन्य सबै कर्जाको वृद्धिदर सकारात्मक रहेको छ।
६ महिनामा ५.१८% क्रेडिट डीसबर्सड

असार मसान्तसम्म: कुल ५१.६७ खर्ब कर्जा प्रवाह
पुस मसान्तसम्म: कर्जा ५४.३५ खर्ब पुग्यो (+२.६८ खर्ब)
वार्षिक लक्ष्य: १२.५% वृद्धि, तर ६ महिनामा मात्र ५.१८%
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ५१ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। पुस मसान्तसम्म आइपुग्दा यो रकम २ खर्ब ६७ अर्ब ९९ करोड रुपैयाँले बढेर ५४ खर्ब ३५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षमा राष्ट्र बैंकले १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखेको भए पनि, पहिलो छ महिनामा मात्रै ५.१८ प्रतिशत (२ खर्ब ६७ अर्ब रुपैयाँ) कर्जा प्रवाह भएको छ। समीक्षा अवधिमा दुई प्रकारका कर्जाको वृद्धिदर ऋणात्मक देखिएको छ, जबकि अन्य शीर्षकका कर्जाहरूमा सुधार आएको छ। व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जा ९.८४ प्रतिशतले घटेको छ भने विपन्न वर्ग कर्जा ३.२७ प्रतिशतले घटेको छ।
राष्ट्र बैंकले लचिलो नीति अपनाउँदा आवधिक कर्जासँगै व्यक्तिगत घरजग्गा तथा सेयर धितो कर्जामा वृद्धि भएको छ। यदि बील पर्चेजजस्ता साना शीर्षकहरू बाहिर राख्ने हो भने, ठूला कर्जामा आयात कर्जा सबैभन्दा धेरै बढेको देखिन्छ, जबकि ओभरड्राफ्ट कर्जा सबैभन्दा उच्च दरले घटेको छ।
आयात कर्जामा उच्च वृद्धि, बैंकिङ प्रणालीलाई राहत
आयाततर्फको कर्जा प्रवाह ५६.६१ प्रतिशतले वृद्धि भएको छ। लामो समयदेखि कर्जा विस्तार गर्न नसकेर अधिक तरलता (लगानीयोग्य पुँजी थुप्रिने) समस्यामा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई वस्तु आयात वृद्धिले राहत पुर्याएको छ। व्यवसायीहरूले वस्तु आयातका लागि लिने कर्जा बढेसँगै समग्र कर्जा प्रवाहमा पनि विस्तार भएको छ।
आयात कर्जा बढी लिनेमा सेवा क्षेत्र र औद्योगिक क्षेत्रका कम्पनीहरू प्रमुख छन्। विशेषगरी खानेतेल उद्योगहरू (भटमास, सूर्यमुखी) ले कच्चा तेलको आयात बढाउँदा औद्योगिक क्षेत्रबाट लिइने आयात कर्जा उल्लेख्य रूपमा वृद्धि भएको हो। साथै, चामल-धान, यातायात उपकरण, सवारीसाधन र तिनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खानेतेल जस्ता वस्तुहरूको आयातमा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो ६ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले बढेर ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा आवधिक कर्जा ३.११ प्रतिशत, मार्जिन कर्जा २६.२८ प्रतिशत, चालु पुँजी कर्जा १२.३४ प्रतिशत, तथा ट्रष्ट रिसिट (आयात) कर्जा ५६.६१ प्रतिशत ले वृद्धि भएको छ। त्यस्तै, हायर पर्चेज कर्जा ३.७९ प्रतिशत, नगद प्रवाह कर्जा ४.७२ प्रतिशत, रियल स्टेट कर्जा २.०७ प्रतिशत, र व्यक्तिगत आवासीय घर कर्जा ३.९१ प्रतिशत ले बढेको छ।
२०७८-८२ को पहिलो ६ महिनामा वस्तु आयात ७.१% ले वृद्धि, कुल आयात: ८ खर्ब २२ अर्ब ३७ करोड
आवधिक कर्जा: +३.११%
मार्जिन कर्जा: +२६.२८%
चालु पुँजी कर्जा: +१२.३४%
ट्रष्ट रिसिट (आयात) कर्जा: +५६.६१%
हायर पर्चेज कर्जा: +३.७९%
नगद प्रवाह कर्जा: +४.७२%
रियल स्टेट कर्जा: +२.०७%
